सिमरा स्थित सेजमा उद्योगको चाप बढ्दो

बारा – विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजमा यतिखेर धमाधम नयाँ उद्योगहरू स्थापना भइरहेको छ । सरकारले उद्योग मैत्री वातावरण बनाएपछि अहिले उद्योगीहरूको चाप सिमरा सेजमा परेको छ । पहिले वर्षमा एउटा पनि उद्योगी नआउने सिमरा सेजमा अहिले दैनिक आधा दर्जन उद्योगी प्लट माग्न आउने गरेका छन् । त्यसो त पहिले प्लट लिएर पनि काम नगरेका उद्योगीहरू अहिले केही महिनामै उद्योग निर्माण गरेर सञ्चालन गरी रहेका छन् ।
सरकारले केही दिन अघि मात्र सेजमा उद्योगीले लिएको जग्गाको भाडा दर २० रुपैयाँ स्क्वाएर मिटरबाट ७५ प्रतिशत घटाएर ५ रुपैयाँ स्क्वाएर मिटर बनाएपछि उद्योगीहरू हौसिएका हुन ।
सिमरा सेजमा स्थापना भएर सञ्चालनमा आएको बाला जी मेनिफयाक्चरिगका प्रबन्धक सुधीर कर्णले चालु आवमा २० करोड बराबरको विद्युतीय सामाग्री निर्यात गर्ने गरी काम भइरहेको बताउनु भएको छ ।
सेजमा भर्खरै सञ्चालनमा आएको बालाजी मेन्युफेक्चरिङ्ग प्रा.ली.ले जाडो मौसमका लागि लक्षित गर्दै उत्पादन गरेको पानी तताउने विद्युतीय जग विदेश निर्यात सुरु गरेको हो । बालाजी कम्पनीको सिमरा सेजमा ५० करोडको लगानी गरेको छ ।
सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजभित्र सञ्चालनमा रहेका उद्योगहरूका लागि कच्चा पदार्थ आयातमा भन्सार छुट र उत्पादन भएका सामानहरूको निर्यातमा भ्याट छुटको सुविधा दिएपछि सेजमा अहिले भारत र चीनका धेरै कम्पनीहरू सिमरा सेजमा आकर्षित भएका हुन । सिमरा सेजमा सञ्चालनमा रहेका पशुपति सेरा मिक्स, लक्ष्मी ग्रेनाइट,बायो कम्प नेपलक, ब्रिलियाँ जुत्ता उद्योगले भने अहिले आन्तरिक तयारी गरी रहेको र केही समयमै निर्यात सुरु गर्ने जनाएका छन् ।
सिमरा सेजका इन्जिनियर पप्पु गिरीले दैनिक प्लट माग्न आधा दर्जन उद्योग आउने गरेको बताउँदै जग्गाको भाडा घटाएपछि उद्योगीहरू उत्साही भएर तीव्र गतिमा काम भई रहेकोले व्यापार घाटा कम गर्ने, रोजगारी सिर्जना गर्ने लक्ष्य पुरा गर्न सिमरा सेज सहयोगी हुने बताउनु भएको छ ।
सरकारले सेजभित्र सञ्चालनमा रहेका उद्योगीहरूलाई विद्युत्मा १० प्रतिशत, जग्गा भाडामा ७५ प्रतिशत छुट दिने,कच्चा पदार्थ आयातमा भन्सार छुट, निर्यातमा भ्याट छुट दिने  लगायतका निर्णय गरेको छ । सिमरा सेजमा हाल ६८ उद्योगले अनुमति लिएका छन् भने ६ उद्योगले उत्पादन सुरु गरी सकेको इन्जिनियर गिरीले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.