इजरायली प्रधानमन्त्री नेतन्याहूले भोलि अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने र त्यसको एक दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडामा भेटवार्ता गर्ने इजरायली अधिकारीले एएफपीलाई बताएका छन्।

ट्रम्पलाई भेट्ने गरी प्रधानमन्त्री नेतन्याहूको यो पाँचौ पटक अमेरिका भ्रमण हो ।

यस पहिले ट्रम्प प्रशासन र क्षेत्रीय मध्यस्थकर्ताहरूले गाजा पट्टीमा इजरायल र हमासबीच युद्धविरामको दोस्रो चरणमा अगाडि बढ्न दबाब दिइरहेका बेला उहाँको भ्रमण भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बरको मध्यतिर पत्रकारहरुसँग कुरा गर्दै नेतन्याहु क्रिसमसको बिदामा फ्लोरिडा जाने सम्भावना रहेको बताउनुभएको थियो ।

“उहाँ मलाई भेट्न चाहनुहुन्छ । हामीले यसलाई औपचारिक रूपमा सेट गरेका छैनौँ, तर उहाँ मलाई भेट्न चाहनुहुन्छ,” ट्रम्पले आफ्नो मार–ए–लागो रिसोर्टमा जानुअघि भन्नुभयो ।

इजरायलको येदिओथ अहरोनोथ पत्रिकाले बुधबार रिपोर्ट गरेअनुसार इरान, इजरायल–सिरिया सुरक्षा सम्झौतामा वार्ता, लेबनानमा हेजबुल्लाहसँग युद्धविराम र गाजा सम्झौताको अर्को चरणसहित क्षेत्रीय मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।

वाशिङ्गटन र उसका क्षेत्रीय सहयोगीहरूको मध्यस्थतामा अक्टोबरमा भएको गाजा युद्धविराम सम्झौताको दोस्रो चरणमा जाने प्रगति अहिलेसम्म सुस्त छ।

युद्धविराम पनि निकै कमजोर देखिएको छ । दुबै पक्षले सम्झौता उल्लङ्घनको आरोप लगाएका छन् र मध्यस्थकर्ताहरूले इजरायल र हमास समान रूपमा रोकिएका भनेर डराइरहेका छन् ।

दोस्रो चरणअन्तर्गत, इजरायलले गाजामा आफ्नो नियन्त्रणबाट पछि हट्नुपर्छ र हमासको सट्टा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तरराष्ट्रिय स्थिरीकरण बल (आईएसएफ) तैनाथ गरिनेछ र यसले अन्तरिम प्रशासनलाई सम्हाल्नेछ ।

यसमा प्यालेस्टिनी इस्लामिक आन्दोलन हमासलाई हतियार बिसाउन लगाउन सकिने प्रावधान पनि समावेश छ ।

शुक्रबार अमेरिकी अनलाइन पत्रिका एक्सियोसले ट्रम्प र नेतान्याहूबीचको बैठक सम्झौताको अर्को चरणलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भएको बताएको थियो ।

ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै एक्सियोसले ट्रम्प प्रशासनले गाजा र आईएसएफलाई हेर्ने प्यालेस्टिनी प्राविधिक विज्ञको सरकारको घोषणा गर्न चाहेको बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.