समानुपातिकको बन्द सूची बनाउँदै दलहरु, प्रमुख दलहरुको बैठक जारी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको समानुपातिक निर्वाचन प्रणाली अनुसार दलहरुले आज उम्मेद्वारको बन्द सूची पेश गर्दैछन ।

यसका लागि प्रमुख दलहरु आफ्नो बैठक र छलफलमा व्यस्त छन । दलहरुको छलफलको रफ्तार हेर्दा आज बन्द सूची बुझाउन रातिसम्म लाग्ने देखिन्छ ।

निर्वाचन आयोगले हिजो र आज गरी दुई दिनभित्र दलहरुलाई बन्द सूची पेश गर्न समयसीमा तोकेको थियो । दलहरुले गृहकार्य गर्न समय लाग्ने भएकोले बन्द सूची पेश गर्ने समय लम्ब्याइदिन भनेका थिए तर आयोगले निर्वाचनको कार्यतालिका नै प्रभावित हुने भएकोले नमिल्ने अडान राखेपछि आजै बन्द सूची बुझाउनुपर्ने बाध्यात्मक अवस्था छ ।

उम्मेद्वारको नामावली टुंग्याउन केही दिनदेखि बसिरहेको नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । र आजको बैठकले साँझसम्ममा नामावलीसहितको बन्द सूची बुझाउने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।

काँग्रेसमा उम्मेद्वारको मापदण्ड बनेको भएपनि आफ्नो समुह वा गुटको उम्मेद्वार समानुपातिक सूचीमा राख्न निकै रस्काकस्सी भइरहेको छ ।

उता नेकपा एमालेमा पनि उम्मेद्वाहरुको टुंगो लागेको छैन । यसका लागि एमाले सचिवालयको बैठकले आज वेलुकीसम्म नामसहितको बन्द सूची बुझाउने एमालेले जनाएको छ ।

महाधिवेशन लगत्तै बुझाउनुपर्ने सूचीमा महाधिवेशनमा पराजित भएका नेताहरुको विषयमा एमालेभित्र व्यापक छलफल भएपनि कुनै निर्णय भने भएको छैन ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि बन्द सूची बुझाएको छैन । तर यो नेकपाले यसअघि समानुपातिकको सूचीमा परेकाहरुलाई उम्मेद्वार नबनाउने नीति लिएको छ ।

यता, नयाँ शक्तिको रुपमा देखा परेको रास्वपा पनि बन्द सूचीमा उम्मेद्वारहरुको छनौट गर्न व्यस्त छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको एकीकरण पछि दुबै पक्षबाट समानुपातिक उम्मेद्वार रहने गरी छलफल भइरहेको सो पार्टीले जनाएको छ ।

अर्कोतर्फ, बन्द सूची बुझाउने अन्तिम दिनसम्म पनि मधेशबादी दलहरु पार्टी एकता गर्न व्यस्त छन । पार्टी एकतासँगै उनीहरुमा पनि तत्काल समानुपातिकको सूची बुझाउनुपर्न दवाव छ । यसका लागि ती दलहरु छलफलमा छन।

नयाँ दर्ता भएको उज्यालो नेपाल पार्टीले पनि छुट्टै समानुपातिकको बन्द सूची बुझाउने तयारी गरेको छ । रास्वपासँगको एकता संभव नभएको भन्दै सो पार्टीले छुट्टै समानुपातिक सूची बुझाउन लागेको हो ।

राप्रपाले पनि आज बैठक डाकेर समानुपातिक उम्मेद्वारको टुंगो लगाउने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.