अहिलेका मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट छैन: गृहमन्त्री अर्याल

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ ।
गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो ।
सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उहाँले आग्रह गर्नुभयो ।
जेनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताउनुभयो । तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सुरक्षा निकायको मनोवल उच्च राखेर निर्वाचन सम्पन्न गरिने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।।





प्रतिक्रिया राख्नुहोस्