आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठको एकल कला प्रदर्शन

काठमाडौँ- वरिष्ठ आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठ ‘विजुच्छे’ को एकल कला प्रदर्शन सुरु भएको छ ।
डा श्रेष्ठले आफ्नो प्राध्यापन र चिकित्सा पेसाका अलावा विगत एक दशकदेखि सिर्जना गरेका १२५ कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको वरिष्ठ चित्रकार हरिप्रसाद शर्माले शुभारम्भ गर्नुभयो ।
वरिष्ठ चित्रकार शर्माले डा श्रेष्ठले कलामार्फत देश र समाजलाई नयाँ सिर्जना दिएको बताउनुभयो । कलाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ थियो । “नेपाली कलाको विकास, उन्नति र प्रचारका क्षेत्रमा नेपाल कला परिषद्ले खेलेकोे भूमिका सराहनीय छ”, उहाँले भन्नुभयो ।
वरिष्ठ कलाकार के.के कर्माचार्यले कला क्षेत्रको विकासमा डा श्रेष्ठको कलाले नयाँ इँटा थपेको बताउनुभयो । आफ्ना अनुभूति र आफूलाई मनमा लागेको कुरालाई प्रस्तुत गर्ने माध्याम कला भएको उहाँको भनाइ थियो । नेपाल ललितकला क्याम्पसका पूर्वक्याम्पस प्रमुख गोविन्द डङ्गोलले कलामा पनि उज्ज्वल भविष्य भएकाले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबाट आँखा विषयमा विशेषज्ञता हासिल गर्नुभएकी डा श्रेष्ठ नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको नेत्र विशेषज्ञ तथा मेडिकल निर्देशक समेत हुनुहुन्थ्यो । भारतबाट बाल आँखा रोगमा थप अध्ययन गर्नुभएकी डा श्रेष्ठ हाल काठमाडौँ मेडिकल कलेजमा प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ ।
उहाँले यसअघि विस २०७८ मा ‘भाइब्रेसन’ शीर्षकमा एकल कला प्रदर्शन गर्नुभएको थियो भने अहिले ‘अन्तरमनको प्रस्फुटन’ शीर्षकमा कला प्रदर्शन गर्नुभएको हो । डा श्रेष्ठका तीन वटा कविता सङ्ग्रह र जीवनमा आधारित पुस्तक ‘एउटा जीवन छामेर हेर्दा प्रकाशित भइसकेका छन् ।
डा श्रेष्ठले आफ्ना श्रीमान् डा विनोद विजुक्छे र छोरा आरभ विजुक्छेको साथ र सहयोगले आफू कला क्षेत्रमा लाग्ने अवसर प्राप्त गरेको बताउनुभयो । पाँच दिनसम्म चल्ने कला प्रदर्शनीमा १२५ कला प्रदर्शनका लागि राखिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्