सुनकोशीमा यात्रुबाहक बस डुब्यो, मानवीय क्षति भने भएन

उदयपुर-  उदयपुरको चौदण्डीगढी नगरपालिका-१ र भोजपुर आम्चोक गाउँपालिका जोड्ने सुनकोशी नदीमा निजी क्षेत्रले सञ्चालन गरेको फेरीबाट यात्रुबाहक बस नदीमा खसेको छ ।

कुनै प्राविधिक परीक्षण, सुरक्षा मापदण्ड तथा सरकारी स्वीकृतिविना सञ्चालन हुँदै आएको फेरीमार्फत बस तार्ने क्रममा दुर्घटना भएको हो ।

सुनसरीको इटहरीबाट भोजपुर जिल्लाको बालंखातर्फ जाँदै गरेको यात्रुबाहक बस सुनकोशी नदी पार गराउने क्रममा फेरी अचानक असन्तुलित भई बससहित नदीमा डुबेको स्थानीयले जनाएका छन् ।

चौदण्डीगढी नगरपालिका–१ रानीटारका पूर्व वडाध्यक्ष रोइत तामाङका अनुसार फेरी असन्तुलित भएपछि बस नियन्त्रण बाहिर गई नदीमा खसेको थियो ।

स्थानीयका अनुसार फलामको संरचनामा प्लास्टिकका ड्रम जोडेर बनाइएको उक्त फेरी जेनेरेटरको सहायताले लट्ठा तानेर सञ्चालन गरिँदै आएको थियो ।

अत्यन्त जोखिमपूर्ण उक्त फेरीमार्फत बस, बोलेरो, ट्र्याक्टरलगायतका सवारी साधन नियमित रूपमा वारपार गराइन्थ्यो ।

उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीको रानीटार क्षेत्रमा मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा छ ।

२०७४ सालमै शिलान्यास भएको पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासीहरू यही अस्थायी फेरी प्रयोग गर्न बाध्य हुँदै आएका थिए ।

फेरीबाट सवारी साधन मात्र वारिपारी गराइने र यात्रुहरू भने झोलुङ्गे पुल हुँदै पैदल पार गरेर पुनः गाडी चढ्ने व्यवस्था गरिएको थियो ।

यही कारणले आजको दुर्घटनामा मानवीय क्षति हुन नपाएको स्थानीय अम्बेबर राईले जानकारी दिनुभयो ।

फेरी सञ्चालकले ट्र्याक्टरबाट ४ हजार रुपैयाँ, बोलेरो तथा साना सवारी साधनबाट १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म र यात्रुबाहक बसबाट ३ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्म शुल्क असुल्दै आएको स्थानीयले बताएका छन् । आज नदीमा डुबेको बस भने सोही फेरी सञ्चालक रत्न तामाङकै रहेको जनाइएको छ ।

चौदण्डीगढी नगरपालिका–१ रानीटारका रत्न तामाङसहित केही स्थानीय व्यक्तिहरूले करिब २५ लाख रुपैयाँ लगानीमा उक्त फेरी सञ्चालन गर्दै आएको भए पनि कुनै सरकारी निकायबाट अनुमति, नियमित अनुगमन तथा आवश्यक सुरक्षा मापदण्ड पालना नभएको स्थानीयले बताएका छन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.