मेची भन्सार : छ महिनामा सात अर्ब १९ करोड रुपैयाँको अलैँची निर्यात

झापा- पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार रुपैयाँ मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले बताउनुभयो ।
गत आवको साउनदेखि पुससम्ममा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको अलैँची पूर्वीनाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाको रुपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालु आवको अर्धवार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।
चालु आवको छ महिनामा ७६ करोड पाँच लाख तीन हजार रुपैयाँ मूल्य बराबरको चार लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ । गत आवको सोही अवधिमा रु ४५ करोड ७६ लाख ३४ हजार मूल्य बराबरको दुई लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ ।
भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक रहेको छ । चालु आव २०८२/८३ को छ महिनामा ५३ करोड चार लाख ९६ हजार रुपैयाँको भेनियर सिट र नौ करोड १२ लाख ८७ हजार रुपैयाँ मूल्यको मुसुरो दाल निर्यात भएको छ ।
गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।अर्धवार्षिक अवधिमा चियाको निर्यातमा २६ दशमलव ४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४ दशमलव ५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ ।
चालु आवको छ महिनामा दुई अर्ब १७ करोड ८७ लाख पाँच हजार रुपैयाँ मूल्य बराबरको चिया र एक अर्ब नौ करोड ७४ लाख तीन हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड निर्यात भएको छ । गत आवको सोही अवधिमा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ मूल्य बराबरको चिया र एक अर्ब ९७ करोड ७६ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड निर्यात भएको थियो ।
यसैगरी, चालु आव २०८२/८३ को पुससम्मको अर्धवार्षिक अवधिमा ३३ करोड ८९ लाख तीन हजार रुपैयाँ मूल्य बराबरको अम्लिसो, ५० करोड १७ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको अदुवा र सुठो, ११ करोड ३१ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको काउली, बन्दाकोभी र ब्रोकाउली र पाँच करोड ७४ लाख २७ हजार रुपैयाँ मूल्य बराबरको जडीबुटी निर्यात भएको भन्सारका सूचना अधिकारी हुमागाइँले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्