नेपालमा ‘निपाह भाइरस’ हालसम्म नदेखिए पनि सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ- जनस्वास्थ्यका लागि घातक मानिने निपाह भाइरस नेपालमा हालसम्म नदेखिए पनि जोखिम भने अत्यधिक रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विमानस्थल, सीमा नाका र स्वास्थ्य संस्थाहरूलाई निगरानीमा राखिएको छ ।

शङ्कास्पद लक्षण देखिएका यात्रुहरूको नमुना परीक्षण गर्न निर्देशन दिइएको छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस फलफूल खाने चमेराबाट सुरु भई सुँगुर, गाईबस्तु हुँदै मानिसमा सर्ने गर्दछ ।

संक्रमित व्यक्तिको रगत वा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि यो रोग फैलिन सक्ने उहाँले बताउनु भयो ।

लक्षणमा ज्वरो, टाउको दुखाइ, रिङ्गटा, श्वासप्रश्वासमा कठिनाइ देखिन्छ ।

समयमै उपचार नपाए मृत्यु दर ४० देखि ७० प्रतिशतसम्म पुग्न सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ ।

हालसम्म शुरुवाती कोरोना भाइरस जस्तै यसविरुद्ध विशेष खोप वा निश्चित उपचार उपलब्ध छैन ।

चिकित्सकहरूले फलफूल राम्ररी पखालेर खाने, मासु पकाउँदा पन्जा र मास्क प्रयोग गर्न, पानी उमालेर पिउने, हात साबुनपानीले धुने र भिडभाडमा मास्क लगाउन सुझाव दिएका छन् ।

नेपालमा अहिलेसम्म निपाह भाइरस पुष्टि नभए पनि नेपालको सिमा जोडिएको भारतीय राज्यमा सतर्कता अत्यावश्यक मानिएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.