हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला- हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ ।
दुई दिनको हिमपातले गर्दा नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई उडानसमेत बन्द भएको छ । यही माघ १४ गते भारी हिमपातका बावजुद पनि सदरमुकामका कार्यालयमा आगो बालेर सेवाग्राहीलाई सेवा दिइएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सरकारी कार्यालयका कर्मचारीले सिमकोट विमानस्थलमा रहेको हिउँ सफा गर्ने कार्य तीव्र बनाएका छन् । दक्षिणी भेगतिर पानी आएर आवतजावत बन्द भएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा मनोनयन दर्ता गरेका सातवटै दलका उम्मेदवारहरुले हिमपात हुँदाहुँदै पनि गाउँ –गाउँमा प्रचारप्रसार गर्ने कार्य भइरहेको बताएका छन् । हिमपात भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । हिमपातले गर्दा मङ्सिरमा लगाएका जौँ, गहुँ, उवा समेतका बालीलाई राम्रो भएको स्थानीय बासिन्दा बताउँछन् ।





प्रतिक्रिया राख्नुहोस्