नेपाल टेलिभिजन आजदेखि ४२औं वर्षमा प्रवेश

नेपालको टेलिभिजन प्रसारण क्षेत्रमा पहिलो र अग्रणी नेपाल टेलिभिजन ४२ औं वर्षमा प्रवेश गर्दै छ । २०४१ साल माघ १७ गते स्थापना भएको नेपाल टेलिभिजन समयसंगै प्रविधि र प्रवृत्तिमा आएका परिवर्तन अनुरुप परिस्कृत हुदै अघि बढिरहेको छ । राज्य सञ्चालित टेलिभिजनबाट सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएको नेपाल टेलिभिजनले वार्षिकोत्सवको अवसरमा राज्यप्रतिको दायित्वसंगै नागरिकप्रतिको जिम्मेवारी र जवाफदेहितालाई पुरा गर्दै अघि बढ्ने सङ्कल्प दोहोर्‍याएको छ ।

सञ्चारको संप्रेषणबाटै विकासको लक्ष्य हासिल गर्ने उद्देश्य लिएर स्थापना भएको नेपाल टेलिभिजनले प्रसारणको ४१ वर्षमा आम नागरिकको अपेक्षा पुरा गर्दै उच्च नैतिक जिम्मेवारी र व्यवसायिक कुशलतासहित आफ्ना समाचार र कार्यक्रमहरु प्रसारण गर्दै आईरहेको छ । २०४१ माघ १७ गते परियोजनाका रुपमा स्थापना भए लगत्तैदेखि राष्ट्रिय प्रशारण संस्थाका रुपमा राज्य र नागरिकबिच सेतुको भूमिका निर्वाह गर्दै आइरहेको नेपाल टेलिभिजनले आफ्नो प्रसारणको चार दशकको इतिहासमा विश्वव्यापी पहुँचका ५ वटा च्यानलसंगै यसै वर्षबाट बेग्लै अंग्रेजी च्यानल एनटिभी वर्ल्ड पनि सञ्चालनमा ल्याएको छ ।

बहुलता र विविधतालाई आत्मसात् गर्दै प्रसारण भइरहेका यी ६ वटै च्यानलहरुले नेपाली जनजीवन, भाषा संस्कृति र परम्परालाई जिवन्त मात्र बनाइरहेका छैनन्, राज्यको मूलधारमा आउन नसकिरहेका जातजाति- समुदाय र भूगोलका यथार्थ आवाज र सीमान्तका स्वरलाई मूलधारमा ल्याइरहेका छन् ।

भूकम्प बाढी पहिरो जस्ता प्राकृतिक विपद्को समयमा होस् वा राजनीतिक उतारचढावका समयमा नै किन नहोस् – सही सूचना र जनचेतनाका माध्यमबाट नागरिकको जीवन रक्षाका लागि नेपाल टेलिभिजनले निर्वाह गरेको भूमिका अविस्मरणीय छ । नेपालमा २०४० साल पछिको विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनको साक्षी रहेको नेपाल टेलिभिजनले समयको मागसंगै आफ्ना नीति र प्रविधिलाई आत्मसात् गर्दै नीति र अभ्यासमा रुपान्तरित गर्दै आएको छ ।

स्थापनाकाल देखि राज्यको टेलिभिजनको रुपमा रहदै आएको नेपाल टेलिभिजन २०८१ कार्तिक २३ गतेबाट सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएसंगै सरकारको सहयोगी र नागरिक केन्द्रित भएको छ । सार्वजनिक सेवा प्रसारणका रुपमा राष्ट्रिय हित र एकता, बहुलता र विविधता, सर्वव्यापकता र नविनता, सुशासन र समृदधी, जनउत्तरदायी र जवाफदेहीतासंगै लोकतन्त्र र नागरिक अधिकारप्रति थप प्रतिवद्ध हुने प्रण सहित अघि बढिरहेको छ । पिएसवीका रुपमा प्रसारण मुख्य तीन क्षेत्र र तीन प्राथमिकतालाई आत्मसाथ गर्दै नेपाल टेलिभिजनले आफ्ना कार्ययोजना तय गरिरहेको छ ।

विश्वमा सार्वजनिक सेवा प्रसारणले करिव एक शताब्दी लामो इतिहास रहेको पृष्ठभूमिमा नेपालको प्रसारण इतिहासमा भने पिएसवीको नयाँ अध्याय भर्खरै सुरु भएको छ । ४१ वर्ष लामो विरासतलाई जोगाउदै पिएसवीको संस्थागत संरचनामा जोडिएको रेडियो नेपाल समेतलाई साथमा लिएर अघि बढ्दा रुपान्तरणको मर्म अनुरुप अघि बढ्ने अवसर र चूनौती नेपाल टेलिभिजन सामू आएका छन् । भइरहेका प्रविधिको पूर्ण उपयोगसंगै नविनतम प्रविधिहरुको प्रयोगबाट सबै नेपालीजन र सबै नेपाली मनमा पुग्ने टेलिभिजन बन्ने दृष्टिकोण राखिएको छ । पिएसवी रुपान्तरणको एक वर्ष प्रशासनिक व्यवस्थापनमा जुटेको व्यवस्थापनले सार्वजनिक सेवा प्रसारणको पूर्ण कार्यान्वयनलाई लक्ष्य गरेर काम गरिरहेको छ ।

दक्ष जनशक्ति, विषयबस्तुको छनोट र प्रस्तुतिमा उच्च व्यवसायिकता अनि प्रशारणमा अत्याधुनिक एचडी प्रविधिको प्रयोगले नेपाल टेलिभिजन र यसका च्यानलहरुलाई अब्बल बनाईरहेको छ । देशमा भू-सतही प्रसारण मार्फत ५२ प्रतिशत भू-भाग र ७२ प्रतिशत जनतामा पहुँच पुर्‍याएको नेपाल टेलिभिजनले दूरदराजका नागरिकलाई जोड्दै विभिन्न जातजाती भाषाभाषी र समुदायको प्रतिनिधित्व र सरोकार सम्बोधन हुनेगरी दैनिक ७ भाषामा समाचार, २५ भाषाका साप्ताहिक कार्यक्रम र थप दुई भाषामा साप्ताहिक समाचार प्रसारण गर्दै आइरहेको छ ।

देशको सबै भुगोल र जनसंख्यामा प्रसारणको सर्वसुलभ पहुँच पुर्‍याउँदै, जनसरोकारका विषयहरुमा आवाजविहीनहरुको आवाज बन्दै, समृद्ध मुलुक बनाउने राष्ट्रिय लक्ष्य प्राप्तिमा सरकार सहयात्री बन्दै सार्वजनिक सेवा प्रसारणको व्यावसायिक जिम्मेवारी र उत्तरदायित्व ४२औं वर्ष प्रवेशमा नेपाल टेलिभिजनले थप शसक्त रुपमा पुरा गर्ने प्रण व्यक्त गरेको छ ।

यसैबीच उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा आज अपरान्ह नेपाल टेलिभिजन प्राङ्गणमा वार्षिकोत्सव कार्यक्रम आयोजना हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.