रौतहटसहित तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु, जनजीवन प्रभावित 

रौतहटः तराई मधेशका रौतहटसहितका जिल्लामा बाक्लो हुस्सु, कुहिरोका कारण जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ।
पछिल्ला दुई दिनदेखि रौतहटमा बिहान र बेलुका बाक्लो मात्रामा हुस्सु लाग्ने गरेको छ। हुस्सुका कारण दृश्यता अत्यन्तै कम हुँदा सवारी साधन सञ्चालन गर्न कठिनाइ भइरहेको छ।
मुख्य तथा सहायक सडकहरूमा सवारी साधनको आवागमन प्रभावित भएको छ भने पैदल हिँडडुल गर्नसमेत समस्या भइरहेको स्थानीयले बताएका छन्।

हुस्सुका कारण सडक दुर्घटनाको जोखिम बढेको छ । विशेषगरी बिहान सबेरै र साँझपख सवारी साधन चलाउँदा अगाडिको दृश्य स्पष्ट नदेखिने अवस्था सिर्जना भएको छ। मोटरसाइकल, साइकल तथा पैदलयात्रीहरू बढी जोखिममा परेका छन् ।

यस्तै, चिसो बढेसँगै सर्वसाधारणको दैनिकी पनि प्रभावित भएको छ। बिहानपख विद्यालय जाने विद्यार्थी, कामकाजका लागि निस्कने मजदुर तथा यात्रुहरूलाई बढी समस्या भइरहेको छ । कतिपय स्थानमा चिसो र हुस्सुकै कारण समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था देखिएको छ ।

सम्बन्धित निकायले हुस्सु लागेको समयमा सवारी साधन चलाउँदा अत्यधिक सावधानी अपनाउन आग्रह गरेका छन्। सवारी चलाउँदा बत्ती बाल्ने, गति नियन्त्रणमा राख्ने, सुरक्षित दूरी कायम गर्ने र आवश्यक परे हर्न प्रयोग गर्ने जस्ता सावधानी अपनाउन चालकलाई सुझाव दिइएको छ ।

हुस्सुका कारण हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि सबै सवारी चालक तथा पैदलयात्रीलाई सजग र सचेत भई आवागमन गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.