संघीय चुनाव, स्थानीय पीडा: बसाइँसराइले सुनसान गाउँ
युवा भेटनै कठिन, महिलाहरुको उपस्थिति उत्साहजनक

अर्घाखाँची — एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना उम्मेदवार प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।
सवै भन्दा बढी मतदाता रहेको यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका १२ जना र तीन जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाभर राजनीतिक दल . र तिनका उम्मेदवारहरुले आमसभा, घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाउँदै लगेक छन् ।

घरदैलोमा पुग्ने उम्मेदवारहरूसँग मतदाताहरूले राख्ने अपेक्षा र जिज्ञासा भने झण्डै समान देखिन्छन् । संघीय संसद्का लागि प्रतिनिधि चयन गर्ने निर्वाचन भए पनि स्थानीयस्तरका समस्या समाधानको माग प्रमुख रूपमा उठिरहेको छ ।
मालारानी गाउँपालिका–२ की निर्मला आचार्यले खेतीबालीमा बाँदरको क्षति रोक्न सक्ने उम्मेदवारलाई मतदान गर्ने बताउनु हुन्छ ।
“खेती लगायौँ, बाँदरले खान दिँदैन । जसले बाँदर नियन्त्रण गर्छु भन्नुहुन्छ, उहाँलाई नै भोट दिने हो । बाटो पिच पछि पनि हुन्छ, पहिले खेतीको सुरक्षा हुनुपर्यो,” उहाँको भनाइ छ ।
सन्धिखर्क–२ का वेद बुढाथोकीले पनि बाँदर र बदेलको समस्या नै मुख्य चुनौती भएको उल्लेख गर्नुभयो ।
“यो समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई नै मत दिनुपर्छ,” खेति लगायो खान पाउनु छैन । उहाँले भन्नुभयो ।
बाँदर–बदेलको हैरानीदेखि चुहिएको छानो मर्मत, खानेपानी सुविधा विस्तार, विद्यालयमा पक्की भवन निर्माणजस्ता रोजगारी सृजनाको विषय मागको रुपमा मतदाताहरूले उम्मेदवारसमक्ष राखिरहेका छन् ।
निर्वाचन संघीय प्रतिनिधि चयन भएपन मतदातको माग अपेक्षा आफ्ना समस्या र स्थानीय विकास निर्माणमा जोड दिएका छन् । मतदाताका अपेक्षा स्वभाविक रहेको उम्मेदवारहरुको बुझाइ छ । उम्मेदवारहरुले पनि नीति निर्माणका कुरा भन्दा पनि स्थानीय समस्या समाधान र विकास निर्माणका विषयलाई चुनावी प्रतिवद्धतामा समेटेका छन् ।

नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामबहादुर चौहानले संघीय प्रतिनिधिको मुख्य जिम्मेवारी नीति निर्माण भए पनि जनताको विकासको अपेक्षा र स्थानीय समस्या समाधानप्रति संवेदनशील हुनु आवश्यक रहेको बताउनुभयो ।
“संघीय होस् वा स्थानीय, हरेक मतदाताले उम्मेदवारलाई जिल्लाको विकास निर्माणको संवाहकका रूपमा लिनुहुन्छ । नीति निर्माणसँगै जनअपेक्षा सम्बोधन पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी हो,” उहाँले उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान) ले अर्घाखाँचीमा बढ्दो वन्यजन्तु–मानव द्वन्द्व समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
“ जिल्लामा बाँदर, बदेल, दुम्सीलगायत वन्यजन्तुको आतंकका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको छ, ग्रामीण बस्ती रित्तिँदै गएका छन् । दीर्घकालीन समाधानका लागि आवश्यक नीति निर्माणमा मेरो विशेष पहल रहनेछ,” मुस्कानको भनाई छ।
बसाइँसराइले रित्तिँदै गाउँ- युवा भेटनै कठिन, महिलाहरुको उपस्थिति उत्साहजनक
जिल्लामा कुल १ लाख ७१ हजार ६५२ मतदाता रहेका छन् । वैदेशिक रोजगारी र अध्ययनका लागि करिब ५५ हजार युवा बाहिर छन् । यो जिल्ला सवै भन्दा बढी रेमिटेन्स भित्राउने जिल्लाहरुको सूचीमा पर्दछ ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङक अनुसार अघिल्लो आर्थिक वर्षमा मात्र १० हजार ५६ जना वैदेशिक रोजगारीमा गएका छन् । यसमा भारत जाने र अध्यानका लागि विदेश जानेको संख्या समावेश गरिएको छैन ।

उम्मेदवारहरुले यतिवेला घरदैलो कार्यक्रमलाई तिव्रता दिएका का त छन् तर घरदैलो कार्यक्रममा युवा मतदाता भेटिन कठिन हुने गरेको उम्मेदवारहरूको अनुभव छ । गाउँघरमा प्रायः ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक मात्र देखिन्छन् भने धेरै घरहरू ताल्चा लगाएर सुनसान अवस्थामा छन् ।
”घरदैलो कार्यक्रममा हिडदा हरेक १० घर मा १।२ घर त ताल्चा लगाएको भेटिएको छ । निर्वाचन आएपछि गाउँ पस्दा गाँउ त छ घर गोठ छन् मान्छे छैन । ताल्चा लगाएका सुनसान घर गाउ छन् । हाम्रा गाउँ बस्तिहरु हामीले थाहै नपाइ रित्तिएछन्” नेपाली काँग्रेसको घरदैलो कार्यक्रममा सहभागी भुमूकास्थान नगारपालिका २ का राजेन्द्र आचार्य भन्नु हुन्छ ।
स्थानीय बासिन्दाहरूका अनुसार गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा र पर्याप्त रोजगारीको अभाव बसाइँसराइको प्रमुख कारण बनेको छ । कृषि उपजमा बाँदर र बदेलले पुर्याउने क्षतिले पनि समस्या थपिएको छ ।
त्यसो त यस जिल्लाको जिल्लाका ६ वटै स्थानीय तहका ६१ वडामै मोटरबाटो पुगेको छ र अधिकांश सडक पिचसमेत भइसकेका छन् । आधारभूत पूर्वाधार विस्तार भए पनि वन्यजन्तु–मानव द्वन्द्व र रोजगारी अभावका कारण बसाइँसराइ बढिरहेको स्थानीयको गुनासो छ ।

मालारानी, छत्रदेव, पाणिनी गाउँपालिका तथा भूमिकास्थान नगरपालिकाबाट बसाइँसराइ गर्नेको संख्या उल्लेखनीय रूपमा बढेको छ । सन्धिखर्क नगरपालिकाबाट बसाइ सर्नेको संख्या भन्ने अन्यन्त्रको तुलनामा कम रहेको छ । यस जिल्लाबाट बसाइँसराइ गर्नेहरू प्रायः बुटवल, काठमाडौं, चितवन र कपिलवस्तुतर्फ गइरहेका छन् ।
विकासका पूर्वाधार विस्तार हुँदाहुँदै पनि गाउँ रित्तिँदै जानु चिन्ताको विषय बनेको स्थानीय जनज्योति माविका शिक्षक मुकुन्द पोखरेल बताउनु हुन्छ । बसाइँसराइ रोक्न दीर्घकालीन नीति, रोजगारीमुखी कार्यक्रम र वन्यजन्तु नियन्त्रणका प्रभावकारी उपाय आवश्यक रहेको उहाँको बुझाई छ ।
विगतको मतपरिणाम र यसपटकको प्रतिस्पर्धा
विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी ४२ हजार ६७५ मतसहित विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम) ले ४० हजार ९४५ मत प्राप्त गर्नुभएको थियो ।
समानुपातिकतर्फ नेकपा एमालेले ३७ हजार ४५० मत, नेपाली कांग्रेसले २६ हजार ८६५ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार ९५१ मत र नेकपा माओवादी केन्द्रले ७ हजार ३४२ मत प्राप्त गरेका थिए ।
यसपटक नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल, नेकपा एमालेबाट पीताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टीबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल, नेकपा माओवादी केन्द्रबाट खिमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुष्करनाथ आचार्यलगायत उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।
जिल्लमा यस पटक करिव ८ हजार नयाँ मतदाता थपिएका छन् । राजनीतिक दलहरुले अघि सारेका उम्मेदवारको लोकप्रियता र थपिएका नयाँ मतदाताको निर्णय निर्वाचन परिणमा निर्भार रहेको आकालन गरिएको छ ।
यस निर्वाचन क्षेत्रमा चार राजनीतिक दल नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल, नेकपा एमालेबाट पीताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टीबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल उत्तिकै सभावना भएका उम्मेदवारको रुपमा मतदाताले लिएका छन् ।।






प्रतिक्रिया राख्नुहोस्