नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले गर्यो प्रशंसा

काठमाडौँ – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै नेपाली नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा प्रशंसा गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार सञ्चारमाध्यमका प्रश्नहरूको जवाफ दिँदै नेपालमा उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले नेपाली नागरिकले लोकतान्त्रिक म्यान्डेट प्रयोग गरेको भन्दै निर्वाचन सफल बनाउन भूमिका खेलेका सबै पक्षलाई बधाई दिनुभयो ।
यसका साथै उहाँले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा विभिन्न सरोकारवालालाई पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई दिनुभयो ।
प्रवक्ता जैसवालले गत वर्ष (भदौ २३–२४) का असाधारण परिस्थितिबिच पनि निर्वाचन सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।
भारतले सधैं नेपालमा शान्ति, प्रगति र स्थायित्वलाई समर्थन गर्दै आएको भन्दै उहाँले नेपाल सरकारको अनुरोधअनुसार यस निर्वाचनका लागि आवश्यक केही गाडीसहितका सामग्री उपलब्ध गराएको जानकारी पनि दिनुभयो ।
उहााले आगामी दिनमा नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर दुई देशबिचको बहु आयामिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै पारस्परिक हितका लागि सहकार्य गर्न भारत इच्छुक रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्