महावीरको सानदार जितः ‘विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश’

बेनी (म्याग्दी)- म्याग्दीमा विगतका वर्षहरूमा निर्वाचनपछि विजेताले खुसी साँट्ने तडकभडकपूर्ण ‘विजयी उत्सव’ले बजार क्षेत्र कोलाहलपूर्ण बन्ने गरेको थियो । निर्वाचित उम्मेदवार र दलका नेता, कार्यकर्ताले चर्को ध्वनि प्रदूषणसहित एकअर्का पार्टी र प्रतिस्पर्धी लक्षित नाराबाजी गर्ने पुरानै प्रचलन थियो । तर शनिबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएका स्वतन्त्र उम्मेदवार महावीर पुनको जितमा भने फरक अभ्यास देखियो ।

पुनले आफ्नो विजय सुनिश्चित भएसँगै मतदाता र शुभेच्छुकलाई कुनै पनि तडकभडक हुने खालको विजयी र्याली र उत्सव नगर्न आग्रह गर्दै सन्देश जारी गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि उहाँलाई बधाई दिन मतदाता र शुभेच्छुकहरू सडकमा भेला भएका थिए ।

मतदातालाई सम्बोधन गर्दै पुनले निर्वाचनमा जित–हार हुनु सामान्य प्रक्रिया भएको बताउँदै आफूले जितलाई उत्सव नभई जनताप्रतिको जिम्मेवारीका रूपमा लिएको बताउनुभयो । “मुख्यगरी शिक्षा नीति सुधार गर्न म उम्मेदवार भएको थिएँ । जनताले भोट दिएपछि म निर्वाचित भएँ । अब कुनै खुसी मनाउने कुरा होइन, जिम्मेवारीको भारी बोकेर काम गर्ने कुरा हुन्छ । मतदानमा सहभागी सम्पूर्ण मतदाताप्रति म आभारी छु”, पुनले भन्नुभयो ।

निर्वाचनमा कतिपय उम्मेदवारले विजयपछि र्याली गर्ने गरेको उल्लेख गर्दै उहाँले जितमा मात्तिने र हारमा आत्तिने काम दुवै गलत भएको बताउनुभयो । “चुनावमा विजयी भएपछि धेरै मतदाताले बेनी बजारमा विजयी उत्सव मनाउनुपर्ने भन्दै आग्रह गरिरहेका छन् । कतिपय साथीभाइले यति ठूलो खुसीमा किन उत्सव नगर्ने भन्नुभएको छ । तर मैले सार्वजनिक रूपमा विजयी उत्सव र्याली नगर्ने घोषणा गरिसकेको छु”, पुनले भन्नुभयो ।

निर्वाचनबाट एक जनामात्र विजेता हुने र अन्य उम्मेदवार पराजित हुने भएकाले विजेताले सबै उम्मेदवारको भावनाको सम्मान गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । विजयी उत्सवका तडकभडकले कसैलाई जित–हारको पीडा महसुस गराउनु उचित नहुने भन्दै सांसद पुनले सबै उम्मेदवारको सम्मानका लागि आफूले विजयी उत्सव नगर्ने बताउनुभयो ।

हरेक विजयी उत्सवमा धेरै नागरिकको समय र पैसा खर्च हुने गरेको उल्लेख गर्दै सांसद पुनले समय अमूल्य भएकाले त्यसलाई सही ठाउँमा उपयोग गर्न आग्रह गर्नुभयो । साथै, उहाँले जिल्लाको विकासका लागि उम्मेदवार, राजनीतिक दल र सरोकारवालासँग मिलेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहनुभएका पुन निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतान्तरले विजयी हुनुभएको हो । उहाँले २२ हजार ८५० मत प्राप्त गर्दा नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत पाउनुभयो । त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६७६, नेकपाका अर्जुन थापाले तीन हजार ५२९ र रास्वपाका युवराज रोकाले एक हजार ५३० मत प्राप्त गर्नुभयो ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पुनलाई मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले औपचारिक रूपमा विजयी भएको प्रमाणपत्र प्रदान गर्नुभयो । एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जिल्लामा ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.