सिराहा-१ बाट रास्वपाका बब्लु गुप्ता विजयी

सिरहा- सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । उहाँले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी हुनुभएको हो  ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी नौ हजार ७८४ मत ल्याउनुभयो ।

नवनिर्वाचित सांसद गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो ।

विक्रम सम्वत् २०५४ साल साउन ७ गते सिराहा जिल्लाको लाहान नगरपालिकामा जन्मनुभएका गुप्ता विद्यार्थी जीवनदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आउनु भएको छ।

स्नातक तहसम्म अध्ययन गर्नुभएका उहाँ सामाजिक अभियानमार्फत नेतृत्वका रूपमा स्थापित हुनुभएको हो।

वैदेशिक रोजगारीको नाममा ठगीमा परेकाहरूलाई सहयोग गर्ने, विपन्न विद्यार्थीहरूको पढाइमा साथ दिने तथा उपचारका लागि गाउँबाट राजधानी आएका बिरामीहरूलाई सहयोग गर्ने कार्यबाट उहाँ समाजमा परिचित हुनुहुन्छ ।

कोभिड–१९ महामारीको कठिन समयमा उहाँले “निःशुल्क खाना अभियान” सञ्चालन गरी राजधानीमा अप्ठ्यारोमा परेका श्रमिक तथा विपन्न वर्गका मानिसहरूलाई सहयोग गर्नुभयो। संकटको घडीमा ‘मानिस पहिलो’ भन्ने भावनासहित गरिएको यो अभियानका कारण उहाँ व्यापक रूपमा चर्चामा आउनुभएको थियो।

जेन-जी आन्दोलनमा सक्रिय नेतृत्व गर्दै अघि बढ्नुभएका गुप्ता उक्त आन्दोलनपछि बनेको अन्तरिम सरकारमा २०८२ सालमा युवा तथा खेलकुद मन्त्री बन्नु भएको थियो।

मन्त्रीहुँदा छोटो समय रहे पनि काम गरेको अनुभूति दिलाउने गरी सक्रिय रूपमा जिम्मेवारी निभाउनुभएको उहाँलाई जेन–जी आन्दोलनबाट उदाएको मधेशको नयाँ पुस्ताको नेतृत्वका रूपमा हेरिएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.