तनहुँ-१ बाट निर्वाचित डा वाग्लेको यात्रा: नीतिबाट राजनीतिसम्म

तनहुँ- तनहुँ-१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी हुनु भएको छ । डा वाग्लेले ३८ हजार ४० मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोविन्द भट्टराईले १६२३१ मत प्राप्त गर्नुभयो ।
गत उपनिर्वाचनमा पनि डा वाग्ले यही क्षेत्रबाट ३४ हजार ९११ मतसहित विजयी हुनुभएको थियो ।
नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो, डा स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाउनुभएका डा वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
गोरखा जिल्लामा जन्मिनुभएका वाग्ले सामान्य परिवेशमा हुर्किनुभएको हो । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उहाँ उच्च शिक्षाका लागि विदेश पुग्नुभयो । अर्थशास्त्रमा गहिरो अध्ययन गर्दै उहाँले ‘पिएचडी’ पूरा गर्नुभयो ।
अध्ययनका क्रममा उहाँले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गर्नुभएको थियो । यही अध्ययनले उहाँलाई अन्तरराष्ट्रियस्तरका नीति बहसमा सहभागी गरायो ।
उच्च शिक्षापछि डा वाग्लेले विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गर्नुभयो । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममा उहाँले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा काम गर्नुभयो ।
स्वदेश फर्किएपछि उहाँले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । त्यहाँ रहँदा देशको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार र सुशासनका विषयमा महत्त्वपूर्ण योगदान दिनुभएको थियो ।
लामो समय नीतिगत क्षेत्रमा काम गरेपछि डा वाग्लेले नीति मात्र बनाउने होइन, त्यसलाई कार्यान्वयन गर्ने राजनीतिक नेतृत्व पनि आवश्यक रहेको महसुस गर्नुभयो । यही सोचका साथ उहाँ रास्वपामार्फत राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँको राजनीतिमा प्रवेशलाई धेरैले ‘प्राविधिक नेतृत्वबाट राजनीतिक नेतृत्वतर्फको यात्रा’ का रूपमा हेरेका छन् ।।






प्रतिक्रिया राख्नुहोस्