‘विजयसाल सामुदायिक घरवास’मा बढ्दै पाहुनाको आकर्षण

कञ्चनपुर- कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित हुन थालेको छ ।

विगतमा साहुको घरमा श्रम बेचेर जीवन गुजार्न बाध्य भएका थारु समुदायका परिवारहरू आज आफ्नै गाउँमा घरवास (होमस्टे) सञ्चालन गरेर आत्मनिर्भर बन्ने यात्रामा अगाडि बढिरहेका छन् ।

थारु बस्तीमा सञ्चालन गरिएको ‘विजयसाल’ अहिले स्थानीय समुदायको आयआर्जनको भरपर्दो माध्यम बन्नुका साथै थारु संस्कृति संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धनको नमूना बनेको छ । बस्तीका विस्पति चौधरीले घरवास सञ्चालन गरेको केही वर्षमै आफ्नो जीवनमा ठूलो परिवर्तन आएको अनुभव सुनाउनुहुन्छ । घरवास सुरु गर्नु अघि उहाँले परिवार पाल्न ज्याला मजदुरी गर्नुपर्ने अवस्था थियो ।

“पहिला हामी दैनिक ज्यालामजदुरी गरेर जीवन चलाउँथ्यौँ”, उहाँले भन्नुभयो, “घरवास सञ्चालन गर्न थालेपछि आम्दानीको नयाँ बाटो खुल्यो, पाहुनाको आगमन भइरहन्छ, यसले जीविका चलाउन धेरै सहज बनाएको छ ।” घरवासमा आउने पाहुनाको निरन्तर आगमनले चौधरीको मात्र होइन, बस्तीका अन्य परिवारको पनि आम्दानी बढ्दै गएको छ । अहिले यहाँका छ परिवार मिलेर विजयसाल सामुदायिक रूपमा घरवास सञ्चालन गरिरहेका छन् ।

घरवासमा आबद्ध सबै परिवारले पाहुनालाई बस्नका लागि छुट्टाछुट्टै घर निर्माण गरेका छन् । ती घरहरू परम्परागत थारु वास्तुकलाको झल्को दिने गरी निर्माण गरिएका छन् । बाहिरबाट हेर्दा माटो र काठले बनेका परम्परागत घरजस्तै देखिने भए पनि भित्र आधुनिक सुविधा उपलब्ध गराइएको छ ।

पाहुनालाई सहज बसोबासका लागि प्रत्येक कोठामा एटेच बाथरुम, आरामदायी बेड तथा वाइफाइ सेवा उपलब्ध गराइएको छ । दुई जना बस्न मिल्ने गरी तयार गरिएका कोठाहरूमा पाहुनाले गाउँको वातावरणसँगै आधुनिक सुविधाको अनुभव पनि गर्न सक्छन् ।

घरवास परिसरमा पाहुनालाई बस्नका लागि चार वटा आकर्षक गोल घर निर्माण गरिएका छन् । त्यस्तै पाहुनाको स्वागत तथा सामूहिक कार्यक्रमका लागि छुट्टै सामुदायिक हलको पनि व्यवस्था गरिएको छ । यसले घरवासलाई केवल बस्ने ठाउँ मात्र नभई सांस्कृतिक गतिविधि र सामुदायिक अन्तक्र्रियाको केन्द्रका रूपमा पनि विकास गरेको स्थानीय दुर्गा चौधरी बताउनुहुन्छ ।

“घरवासको नाम ‘विजयसाल सामुदायिक घरवास’ राखिनुको पनि विशेष कारण रहेको छ”, उहाँले भन्नुभयो, “विजयसाल बहुऔषधीय गुण भएको वनस्पति हो, जसलाई स्वास्थ्यका दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ, विजयसालको काठबाट बनेको भाँडामा पानी राखेर पिउँदा मधुमेह तथा रक्तचाप नियन्त्रणमा सहयोग पुग्ने मान्यता रहेको छ, पछिल्लो समय वनजङ्गलमा यो रुख लोप हुने अवस्थामा पुगेको छ, यसैलाई ध्यानमा राख्दै विजयसालको संरक्षण तथा प्रचार गर्ने उद्देश्यले घरवासको नाम ‘विजयसाल’ राखिएका हौँ ।”

विजयसाल घरवासको अर्को आकर्षण भनेको यहाँ उपलब्ध हुने परम्परागत थारु खानपान हो । घरवासमा आउने पाहुनालाई उहाँहरूको चाहनाअनुसार विभिन्न स्थानीय परिकार तयार गरेर पस्किने गरिन्छ । घरवास सञ्चालक वसन्ती रानाका अनुसार यहाँ भेज तथा नन–भेज दुवै प्रकारका परिकार पाइन्छन् ।

“पाहुनाको रोजाइअनुसार खाना तयार गर्छौं”, उहाँले भन्नुभयो, “थारु समुदायका मौलिक परिकार ढिक्री, बरिया रोटी, अन्तीको भात, मिसौला, फुलौरालगायतका परिकार पाहुनाले निकै मन पराउनुहुन्छ ।” यसका अतिरिक्त माछा, गङ्गटा, घोंगी, सुतही, सुँगुरको मासु तथा स्थानीय जातको कुखुराको मासु पनि यहाँका लोकप्रिय परिकार हुन् ।

कहिलेकाहीँ पाहुनाले मुसाको चटनीसमेत चाख्नका लागि माग गर्ने गरेको सञ्चालकहरू बताउँछन् । त्यस्तै अमिलो–पिरो स्वादको बयरको चटनी पनि पाहुनाले मन पराउने परिकारमध्ये एक हो । जुन घरवास सञ्चालकले अनिवार्य रूपमा परिकारसँगै पस्कने गर्दछन् । घरवासमा उपलब्ध गराइने खानाका परिकारको मूल्य रु १३० देखि रु ३०० सम्म रहेको छ ।

घरवासमा आउने पाहुनाको मनोरञ्जनका लागि थारु समुदायका परम्परागत नृत्यहरू पनि प्रस्तुत गरिन्छ । सामुदायिक हलमा स्थानीय महिला तथा युवाहरूले सखिया, छोक्रा र मघौटालगायतका नृत्य प्रस्तुत गर्छन् । मादल र मञ्जिराको तालमा प्रस्तुत गरिने यी नृत्यले पाहुनालाई थारु संस्कृतिको झलक दिन्छन् ।

घरवास सञ्चालक परदेशनी डगौराका अनुसार पाहुनाको मागअनुसार सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । “नृत्य देखाएबापत एक घण्टाको रु तीन हजार शुल्क लिने व्यवस्था छ”, उहाँले भन्नुभयो, “यसले पाहुनालाई मनोरञ्जन दिनुका साथै हाम्रो संस्कृति जोगाउन पनि मद्दत पुगेको छ ।” सांस्कृतिक कार्यक्रमबाट प्राप्त रकम कलाकारहरूको सामूहिक कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ ।

“घरवासमा वर्षभरिमा करिब एक हजार जति पाहुना आएको रेकर्ड छ”, घरवास सञ्चालक लिलाकुमारी चौधरीले भन्नुभयो, “पर्यटन सिजनका बेला यहाँ पाहुनाको चहलपहल निकै बढ्ने गर्दछ, यस वर्षको फागुन महिनामा मात्र करिब २०० पाहुना यहाँ बस्न आएका छन् ।”

यहाँ आउने पाहुनामध्ये अधिकांश इलाम, धादिङ, मोरङ, सुनसरी, पोखरा र काठमाडौँलगायत क्षेत्रका बढी हुने गरेका छन् । कहिलेकाहीँ विदेशी पर्यटक पनि थारु संस्कृति, रहनसहन र खानपानबारे जान्न उत्सुकताका साथ यहाँ आउने गरेको सञ्चालकहरू बताउनुहुन्छ ।

घरवासमा बस्न आउने अधिकांश पाहुना नजिकै रहेका पर्यटकीयस्थलको अवलोकन गर्न पनि जाने गर्छन् । विशेषगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज यहाँको मुख्य आकर्षण मानिन्छ । विशाल घाँसेमैदान र दुर्लभ बाह्रसिङ्गा हेर्नका लागि धेरै पर्यटक त्यहाँ पुग्ने गर्छन् । यसका साथै महाकाली नदीमाथि बनेको बहु–स्पान झोलुङ्गे पुलको दृश्यावलोकन गर्न पनि पर्यटक जाने गर्छन् ।

घरवास नजिकै रहेको सिस्ने सिमसार क्षेत्र पनि प्रकृतिप्रेमीका लागि आकर्षक गन्तव्य मानिन्छ । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी तथा जलचर अवलोकन गर्न सकिन्छ । घरवास सञ्चालनबाट सहभागी परिवारहरूले मासिक रु ३० हजारदेखि रु ३५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । यद्यपि पाहुनाको सङ्ख्याअनुसार आम्दानी कहिले बढी त कहिले कम हुने गरेको सञ्चालकहरू बताउँछन् । स्थानीय बासिन्दाका अनुसार घरवास सञ्चालन सुरु भएपछि गाउँमा आर्थिक गतिविधि बढेको छ ।

यसले स्थानीय उत्पादनको उपयोग बढाउनुका साथै रोजगारका अवसर पनि सिर्जना गरेको छ । यससँगै थारु समुदायको मौलिक संस्कृति, खानपान र जीवनशैलीको संरक्षणमा पनि सकारात्मक प्रभाव परेको स्थानीय अगुवा सोभा खुना बताउनुहुन्छ ।

“घरवास सञ्चालनका सफलताका बाबजुत केही चुनौतीहरू पनि छन्” उहाँले भन्नुभयो, “सिजनअनुसार पाहुनाको सङ्ख्या घटबढ हुनु, विदेशी पर्यटकसँग भाषाको समस्या आउनु तथा प्रचारप्रसारको कमी हुनु प्रमुख चुनौतीका रूपमा रहेका छन् ।” सरकारी निकायबाट पूर्वाधार विकास, तालिम तथा प्रचारप्रसारमा सहयोग प्राप्त भएमा यस क्षेत्रलाई ग्रामीण पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विजयसाल सामुदायिक घरवासले सङ्घर्षशील मुक्तकमैया समुदायलाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ, यसलाई निरन्तरता दिनका लागि सबै पक्षको सहकार्य हुन आवश्यक छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.