दलहरुले पठाएका समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली सूची रुजु गर्दै निर्वाचन आयोग

काठमाडौँ- राजनितिक दलहरुले बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फको सूचीमाथि निर्वाचन आयोगले ‘क्लष्टर’ अनुसार रुजु गरिरहेको छ । रुजु सकिए आयोगले आजै समानुपातिकतर्फ दलका निर्वाचित सांसदहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिकतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा आयोगले आज रुजु गरेको हो ।

निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । जसमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो ।

सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले क्लष्टरअनुसार ५७ सांसदको सूची पेस गरेको छ । यसैगरी, कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टीले १६, नेपाली कम्युनिष्ट पार्टी नेकपाले नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चार÷चार उम्मेदवारको सूची क्लष्टर मिलाएर हिजो पेस गरेको थियो ।

क्लष्टर अनुसार सूची मिले नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । दलहरुले क्लष्टरअनुसार बुझाएको निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रुटि नभए आज नै निर्वाचितको सूची सार्वजनिक गरिने आयोगले जनाएको छ ।

दलहरुले क्लष्टरअनुसार बुझाएको सूचीमा केही त्रुटि भई सच्याउनुपर्ने अवस्थामा तीन दिनसम्म समय लाग्न सक्ने पनि आयोगले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.