कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

एजेन्सी- कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् ।

कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटोले दुर्घटनामा ६६ जना सैनिकको ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार अझै चार जना सैनिक बेपत्ता रहेका छन् । “यो अत्यन्त दुःखद घटना हो, जसले हाम्रो सेनामा ठूलो क्षति पुर्‍याएको छ”, उहाँले भन्नुभयो ।

उहाँले प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना कुनै अवैध सशस्त्र समूहको आक्रमणका कारण भएको देखिँदैन भन्दै त्यस्तो कुनै सङ्केत हालसम्म नदेखिएको स्पष्ट पार्नुभयो ।

दुर्घटनास्थल पोर्टो लेगुइजामो, पुतुमायो प्रान्तमा पर्छ । यो इक्वेडर र पेरुको सीमासँग जोडिएको दुर्गम अमेजन क्षेत्र हो । स्थानीय उपमेयर कार्लोस क्लारोसले मृतकहरूको शव सानो सहरको शवगृहमा राखिएको र सीमित स्वास्थ्य पूर्वाधारका कारण घाइतेहरूलाई प्राथमिक उपचारपछि ठूला सहरतर्फ पठाइएको बताउनुभयो । उहाँले स्थानीय बासिन्दाहरूले उद्धारमा सक्रिय सहयोग गरेको भन्दै आभार व्यक्त गर्नुभयो ।

कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजले दुर्घटनाग्रस्त विमानले पुतुमायोको अर्को क्षेत्रमा सेना लैजाँदै गरेको जानकारी दिनुभयो । विमानमा ११५ जना सैनिक, ११ जना चालक दलका सदस्य र दुई जना राष्ट्रिय प्रहरी सवार थिए । दुर्घटनापछि ५७ जनालाई जीवितै उद्धार गरिएको बताइएको छ ।

दुर्घटनापछि सार्वजनिक भएका तस्बिर र भिडियोहरूमा दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँ उठिरहेको देखिन्छ भने सैनिकहरू र स्थानीय बासिन्दाहरू उद्धार तथा आगो निभाउने प्रयासमा जुटेको दृश्य देखिन्छ । केही घाइतेहरूलाई मोटरसाइकलमार्फत हतारमा सुरक्षित स्थानतर्फ सारिएको थियो ।

कोलम्बियाको वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको कारणबारे अझै स्पष्ट हुन नसकेको बताउनुभयो । उहाँका अनुसार विमानमा प्राविधिक समस्या आएको र विमानस्थलबाट करिब दुई किलोमिटर टाढा खसेको हो । घाइतेहरूको उद्धारका लागि विशेष विमानमार्फत राजधानी बोगोटा लगायतका अस्पतालहरूमा सारिएको छ ।

दुर्घटनालाई लिएर राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य उपकरणको आधुनिकीकरण आवश्यक रहेको पुनः जोड दिनुभयो । उहाँले प्रशासनिक कमजोरी र ढिलासुस्तीका कारण सुधारका प्रयासहरू अवरुद्ध भएको उल्लेख गर्दै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउनुपर्ने सङ्केत गर्नुभयो ।

यद्यपि विपक्षीहरूले भने बजेट कटौतीका कारण सैन्य उडान समय घट्दा अनुभवहीन चालक दलका सदस्यहरू बढेको र त्यसले जोखिम बढाएको तर्क गरेका छन् ।

उड्डयन तथा सैन्य विश्लेषक एरिक सौमेथका अनुसार दुर्घटनाग्रस्त ‘हकुलुलस सी१३०’ विमान सन् २०२० मा अमेरिकाले कोलम्बियालाई उपलब्ध गराएको थियो र त्यसपछि यसको विस्तृत मर्मतसम्भार पनि गरिएको थियो । उहाँले विमानमा प्रयोग गरिएका उपकरण वा पार्ट्सको कमीका कारण दुर्घटना भएको सम्भावना कम रहेको बताउँदै इन्जिन किन उडानपछि छिट्टै असफल भयो भन्नेबारे अनुसन्धानले स्पष्ट पार्नुपर्ने उल्लेख गर्नुभयो ।

रक्षामन्त्री सान्चेजले पनि दुर्घटनास्थल नजिक सक्रिय विद्रोही समूहको संलग्नताको कुनै प्रमाण नभएको बताउनुभयो । उहाँले यस घटनालाई ‘राष्ट्रका लागि गहिरो पीडादायी’ भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभयो ।

यो दुर्घटनाले कोलम्बियाको सुरक्षा संयन्त्र, सैन्य तयारी र पूर्वाधारमाथि गम्भीर प्रश्न उठाएको छ भने देशभर शोकको वातावरण सिर्जना गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.