कोटेश्वर-जडिबुटी सडक जाम हट्ने, सडक विस्तार सुरु
काठमाडौं– काठमाडौंको कोटेश्वर-जडिबुटी सडकखण्डमा दायाँ बायाँ विस्तार गर्न सुरु गरिएको छ । तत्कालका लागि सवारी साधनको जाम हटाउन जडिबुटी चोकमा दायाँ बायाँ दुवै भागमा सडक विस्तार गर्न लागिएको हो ।
त्रिभुवन विमानस्थलको केही जग्गा प्रयोग गरी सडक विस्तार गर्न लागिएको हो । यसका लागि उडान र सडक सुरक्षामा अवरोध नहुनेगरी निर्माणको काम अघि बढाइएको छ । उपत्यकाको बढ्दो ट्राफिक चाप कोटेश्वर क्षेत्रमा बढी रहेकाले सरकारले ट्राफिक चापलाई सहजीकरण गर्न दीर्घकालीन र अल्पकालीन योजना अगाडि सारेको हो ।
विस्तार गर्न लागिएको सडकमा पर्ने ६ आना १ पैसामा बनेको घर अधिग्रहण गर्न सरकारले स्वीकृति दिइसकेको छ । सडक विस्तारसँगै यो सडक खण्डबाट बाहिरिने सवारी साधनलाई यात्रामा सहजीकरण हुने छ । सडकको उत्तरी भागमा साढे ३ मिटर फुटपाथसहितको १ लेन सडक र दक्षिणमा २ लेन सहितको सडक विस्तार गर्ने योजनासहित काम भइरहेको छ ।
सरकारले आगामी आर्थिक वर्षभित्रै डेडिकेटेड सडक विस्तार गर्ने गरी काम सुरु गरेको सडक विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनु भएको छ ।
यो सडक विस्तारसँगै तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटो जाने सवारीसाधनले जाममा बस्नु पर्ने छैन भने सडक विस्तारसँगै सवारी आगमन सहज हुने छ ।
दीर्घकालीन योजनामा भने सरकारले तीनकुनेबाट विमानस्थलको धावनमार्गको तलबाट सुरुङ मार्ग निर्माण गर्न वा तीनकुनेबाट कोटेश्वर सडक भन्दा अगाडिसम्म फ्लाइ ओभर बनाउनका लागि आवश्यक अध्ययन भइसकेको सडक विभागले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्