मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

एजेन्सी- करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसनअन्तर्गतका अन्तरिक्ष यात्रीहरूले एक दिन पृथ्वी वरिपरि परिक्रमा गरेपछि इन्जिन प्रज्वलन गर्दै चन्द्र यात्राको ऐतिहासिक चरण सुरु गरेका छन् ।

लिफ्टअफ भएको झण्डै २५ घण्टापछि गरिएको ‘ट्रान्सलुनर इग्निसन’ सफलतापूर्वक सम्पन्न भएसँगै तीन अमेरिकी र एक क्यानाडाली अन्तरिक्ष यात्री बोकेको ओरियन क्याप्सुल पृथ्वीको कक्षाबाट बाहिर निस्केर करिब दुई लाख ५० हजार माइल (चार लाख किलोमिटर) टाढा रहेको चन्द्रमातर्फ अग्रसर भएको छ । नासाका अधिकारी लोरी ग्लेजले सन् १९७२ मा अपोलो १७ पछि पहिलो पटक मानिसहरूले पृथ्वीको कक्षा छोडेको घोषणा गर्नुभयो ।

इन्जिन प्रज्वलन पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न भएको जनाउँदै क्यानाडाली अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले पृथ्वीबाट टाढिँदै गर्दा देखिएको दृश्यलाई ‘अभूतपूर्व’ बताउनुभयो । उहाँका अनुसार चालक दलका सदस्यहरू झ्यालमै टाँसिएर पृथ्वीलाई टाढिँदै गरेको हेर्दा भावुक बनेका थिए ।

नासाले सुरक्षाको दृष्टिले चन्द्र यात्राअघि एक दिन पृथ्वी नजिकै राखेर क्याप्सुलको जीवनसमर्थन प्रणाली परीक्षण गरेको थियो । त्यसपछि मात्र चन्द्रतर्फको पूर्ण यात्रा अनुमति दिइएको हो । यो परीक्षणलाई उडान नासाको दीर्घकालीन चन्द्र योजनास्थायी आधार स्थापना र भविष्यमा निरन्तर मानव उपस्थितिका लागि महत्त्वपूर्ण आधार मानिएको छ ।

कमान्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र ह्यानसेनले चन्द्रमाको नजिक पुगेर त्यसभन्दा पारि घुमेर पुनः पृथ्वी फर्कने योजना बनाइएको छ । यस क्रममा उहाँहरूले सन् १९७० को अपोलो १३ ले बनाएको दूरीको कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । साथै, अप्रिल १० मा पृथ्वीमा फर्किँदा सबैभन्दा तीव्र गतिमा पुनः प्रवेश गर्ने सम्भावना पनि छ ।

यो मिसनले इतिहासमा नयाँ आयाम थपिसकेको छ । ग्लोभर, कोच र ह्यानसेन क्रमशः पहिलो अश्वेत, पहिलो महिला र पहिलो गैरअमेरिकी अन्तरिक्ष यात्रीका रूपमा चन्द्र यात्रामा सहभागी हुनुभएको हो । यसअघि अपोलो कार्यक्रमअन्तर्गत चन्द्रमा पुगेका २४ जना सबै श्वेत पुरुष थिए ।

ग्लोभरले पृथ्वीलाई अन्तरिक्षबाट हेर्दा सम्पूर्ण मानवता एउटै देखिने उल्लेख गर्दै मानव एकताको सन्देश दिनुभयो । “हामी सबै एउटै प्रजाति हौँ”, उहाँले भन्नुभयो ।

मिसनको महत्त्वपूर्ण क्षणअघि अन्तरिक्ष यात्रीहरूलाई उत्साहित बनाउन सङ्गीतमार्फत जगाइएको थियो । त्यसपछि अन्तिम अनुमति दिँदै उहाँहरूलाई ‘मानवताको चन्द्र फर्कने यात्रा’ को हिस्सा भएको बताइएको थियो । क्याप्सुलले पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षण प्रयोग गर्दै ‘फ्रिरिटर्न’ मार्गमा यात्रा गरिरहेको छ, जसमा इन्जिनले २४ हजार माइल प्रतिघण्टाभन्दा बढी गति दिएको छ ।

कमान्डर वाइजम्यानले यो यात्रा असाधारण र चुनौतीपूर्ण भएको उल्लेख गर्दै यसको गम्भीरता अहिले मात्र महसुस भइरहेको बताउनुभयो । उडान निर्देशक जुड फ्रिलिङले पनि यसलाई जीवनमा एकपटक मात्र आउने अवसरका रूपमा व्याख्या गर्नुभयो ।

अर्को महत्त्वपूर्ण चरण सोमबार चन्द्रमाको नजिक पुग्दा हुनेछ । ओरियन क्याप्सुल चन्द्रमाबाट करिब चार हजार माइल (छ हजार चार सय किलोमिटर) नजिक पुगेर त्यसको टाढाको भागको दुर्लभ दृश्य अवलोकन गर्नेछ । साथै, अन्तरिक्ष यात्रीहरूले पूर्ण सूर्यग्रहणसमेत देख्न पाउनुहुनेछ ।

यसअघि पृथ्वीको कक्षामा रहँदा उहाँहरूले महादेशहरू, समुद्री किनार र दक्षिण ध्रुवसम्मको दृश्य स्पष्ट रूपमा अवलोकन गर्नुभएको थियो । कोचले ती दृश्यहरूलाई अत्यन्त प्रभावशाली बताउनुभयो ।

नासाले यो मिसनलाई सन् २०२८ मा मानवलाई चन्द्रमामा अवतरण गराउने दीर्घ योजनाअन्तर्गत महत्त्वपूर्ण परीक्षणका रूपमा लिएको छ। यद्यपि, उडानका क्रममा केही प्राविधिक चुनौतीहरू पनि देखिएका छन् ।

ओरियन क्याप्सुलको शौचालयमा समस्या देखिएपछि अन्तरिक्ष यात्रीहरूले वैकल्पिक उपाय अपनाउनुभएको थियो । साथै, पानी आपूर्ति प्रणालीमा सम्भावित समस्या समाधान गर्न पिसाब भण्डारण झोलाहरूलाई पानी भण्डारणका रूपमा प्रयोग गरिएको छ । अन्तरिक्ष यात्रीहरूले चन्द्रमातर्फको यात्राअघि सात लिटरभन्दा बढी पानी सुरक्षित राख्न सफल हुनुभएको छ ।

यी साना चुनौतीबीच पनि आर्टेमिस द्वितीयले मानव अन्तरिक्ष यात्राको नयाँ अध्याय सुरु गरेको छ, जसले चन्द्रमामा पुनः मानव उपस्थिति मात्र नभइ, भविष्यका गहिरा अन्तरिक्ष अभियानका लागि पनि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.