रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

रसुवा- हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव आयोजना हुने भएको छ ।

चौंरीपालनलाई व्यावसायिक बनाउँदै पर्यापर्यटन विस्तार गर्ने, चौँरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत दुग्धजन्य पदार्थको बजारीकरण व्यवस्थित गर्ने मुख्य लक्ष्यसहित यही वैशाख १३, १४ र १५ गते महोत्सव आयोजना हुन लागेको हो ।

चौँरीपालन व्यावसायिक समितिका अध्यक्ष सुरेन्द्र तामाङका अनुसार महोत्सवमा उत्कृष्ट चाँैरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत पशुपालन भएकाले महोत्सवबाट किसानलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।”

वडाध्यक्ष तामाङका गतलाङ क्षेत्रमा मात्रै करिब एक हजार ३०० भन्दा बढी दुग्ध उत्पादन गर्ने चौँरी रहेका छन् । महोत्सव अवधिमा चौँरीजन्य परिकारको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसारसँगै परम्परागत उपचार विश्वासअनुसार चौँरीको रगत सेवनको व्यवस्थासमेत मिलाइने जनाइएको छ ।

यस क्षेत्रका किसानले चाँैरीपालनसँगै भेडाबाख्रापालन पनि गर्दै आएका छन् । भेडाको ऊनबाट घरेलुस्तरमै राडी, पाखी, गलैँचा, स्वेटर, टोपी तथा पटुकाजस्ता सामग्री उत्पादन गरिँदै आएको छ, यसको प्रदर्शनी तथा बजार विस्तारमा महोत्सव केन्द्रित हुनेछ ।

स्थानीय किसान मार लामा भन्छन्, “गतलाङका बासिन्दाको मुख्य आम्दानी चौँरीको दूधबाट बनेका परिकार, ऊनजन्य सामग्री, लेकाली आलु, बन्दाकोबी, सिमीलगायत कृषि उत्पादनबाट हुने गरेको छ ।” पछिल्ला वर्षमा किसानहरूले आलु उत्पादनपछि सिमी रोप्ने परम्परागत अभ्यास परिवर्तन गर्दै बढी आम्दानी दिने बन्दाकोपी खेतीतर्फ आकर्षित भएका छन् ।

तामाङ सम्पदा मार्गमा पर्ने गतलाङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दो छ । स्थानीय स्तरमा सञ्चालन भएका होमस्टे सेवाले पर्यटन आम्दानी बढाउन सहयोग पु¥याएको छ । यहाँ आउने पाहुनालाई सिस्नोको तरकारी, सिमीको दाल, मकै, कोदो र फापरको ढिडो, लोकल कुखुराको मासुजस्ता परम्परागत खानाले विशेष आकर्षण पैदा गराइएको स्थानीयवासीले बताएका छन् ।

समुद्र सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा रहेको पार्वतीकुण्ड धार्मिक तथा प्राकृतिक दृष्टिले समेत महत्वपूर्णस्थल मानिन्छ । हिमालयकी पुत्री पार्वतीको वासस्थलका रूपमा विश्वास गरिने यस क्षेत्रमा हरेक वर्ष हजारौँ भक्तजन दर्शनका लागि आउने गर्दछन्, यसबाट स्थानीयले भोजनलगायतका सेवा प्रदानमार्फत अतिरिक्त आम्दानी गर्दै आएका छन् ।

विसं २०६५ को डढेलोबाट नष्ट भएको वन क्षेत्र पुनःस्थापनाका लागि वृक्षरोपण अभियान सञ्चालन भइरहेको डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले जानकारी दिनुभयो । ‘ड्रोन’बाट समेत वनस्पतिका बीउ छरिन लागेका र रोपेका बिरूवा तथा छरेका बीउ संरक्षण कार्यमा चौँरीपालक किसानबाट समेत उल्लेखनीय सहयोग मिल्ने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

करिब ६०० घरपरिवार बसोबास रहेको गतलाङ क्षेत्र परम्परागत पशुपालन, कृषि उत्पादन र ग्रामीण पर्यटनको संयोजनमार्फत क्रमशः आर्थिक समृद्धितर्फ उन्मुख हुँदै गएको किसान अगुवाहरूको भनाइ छ । याक तथा चौँरी महोत्सवले हिमाली संस्कृति संरक्षणसँगै किसानलाई प्रत्यक्ष प्रोत्साहन दिने विश्वास गरिएको समाजसेवी मिलन तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.