थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन-काठमाडौँ प्रजिअ

काठमाडौँ–  थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले राससलाई जानकारी दिनुभयो ।
“अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन । त्यहाँ बसोबास गरिरहनुभएका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ”, प्रजिअ पौडेलले भन्नुभयो, “सुकुमबासीलाई घरटहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन् ।” आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेका उहाँले जानकारी दिनुभयो ।
सरकारले दुई दिन अघि देखिनै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुमबासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।
थापाथली क्षेत्रमा अवैध संरचान हटाउन सुरक्षाकर्मी, प्राविधिक, डोजर अपरेटर, एम्बुलेन्स, सामग्री ओसापसार गर्ने ट्रक, उद्धार गरिएको नागरिकलाई पहिलो आश्रयस्थलसम्म लैजान कर्मचारी ओसार्न प्रयोग हुँदै आएका सवारीसाधन सञ्चालन गरएका प्रजिअ पौडेलले जानकारी दिनुभयो । “धेरैले आफ्नो व्यवस्थापन आफैँ गरेका छन् । सहयोग आवश्यक पर्नेहरू सरकारसँग माग्न आउनुहुन्छ, उहाँहरूलाई सोहीअनुसार व्यवस्थापन गर्छौं,” प्रजिअ पौडेलले भन्नुभयो ।
थापाथलीका सुकुमबासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाालामा राखिएको छ । त्यहाँ उनीहरूको विवरण सङ्कल भइरहेको छ । वास्तविक सुकुमबासी पहिचान भएपछि उहाँहरूलाई अस्थायी बसोबासका लागि व्ययवस्था गरिएको स्थानमा स्थानानतरण गरिनेछ । अस्थायी बसोबासको प्रबन्ध शहरी विकास मन्त्रालयले गरिरहेको छ ।
“सुरक्षाकर्मीहरूले उहाँहरूका सरसामग्रीको सुरक्षा, अपङ्गता भएका, ज्येष्ठ नागरिक, बिरामी, अशक्त, दीर्घरोगी, बालबालिका, गर्भवती, सुत्केरीलगायत मानवीय सहयोग उपलब्ध गराइरहनुभएको छ”, प्रजिअ पौडेलले भन्नुभयो, “उपचार सेवा आवश्यक भएकालाई अपस्पताल पठाइएको छ ।” वस्तीबाट सामान सार्नका लागि सरकारी ट्रकको पनि प्रयोग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले आज काठमाडौँको थापाथली क्षेत्र र गैरीगाउँ सिनामङ्गल क्षेत्रका घरहटरा हटाइने जानकारी दिनुभयो । “समयले भ्याएसम्म आजै मनोहरा क्षेत्रमा पनि त्यस्ता बस्ती हटाउन सुरु गरिनेछ”, उहाँले भन्नुभयो ।
यसैबीच, मनोहराका सुकुमबासी पनि घरटहरा छाडेर  गएका छन् । उनीहरूलाई सुरक्षाकर्मीले आफ्ना सामग्रीलाई सुरक्षित स्थानमा लैजान अनुरोध गरिरहेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिनुभएको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.