खुर्कोट- नेपालथोक-कटुन्जेवेंसी सडकखण्डमा रातिको समय सवारी चलाउन रोक

काठमाडौँ- प्रि मनसुन सुरु भएसँगै वर्षा र बाढीपहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बी.पी. राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ।
प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार आज (२०८३ वैशाख २२) गतेदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
मनसुन सक्रिय भई देशका विभिन्न भागमा भारी वर्षा भइरहेको र यसले बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढाएको भन्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन र स्थानीय सुरक्षा निकायसँगको समन्वयमा उक्त कदम चालिएको प्रशासनले जनाएको छ।
त्यस्तै, उक्त समयबाहेक पनि मौसमको अवस्था र सडकको जोखिमलाई मध्यनजर गर्दै आवश्यक परे अस्थायी रूपमा सवारी आवागमन रोकिन सक्ने समेत प्रशासनले जानकारी गराएको छ ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। यसका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (DEOC) सिन्धुलीमा सम्पर्क गर्न सकिने जनाइएको छ।







प्रतिक्रिया राख्नुहोस्