जेलेन्स्कीको रुसप्रति आलोचनात्मक टिप्पणी

एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसमाथि कडा आरोप लगाउँदै घातक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणलाई ‘पूर्ण सनकीपन’ को संज्ञा दिनुभएको छ । उहाँले मस्कोले आगामी मे ९ मा आयोजना गर्न लागेको विजय दिवस परेडका लागि युद्धविरामको माग गर्नु नै विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभयो ।

मस्को र किएभले यस हप्ता अलगअलग मितिमा अस्थायी युद्धविरामको घोषणा गरे पनि त्यसबीच नै आक्रमण र प्रतिआक्रमण जारी रहँदा दुवैतर्फ मानवीय क्षति भएको छ । मस्कोले मे ९ मा दोस्रो विश्वयुद्ध विजय दिवसका अवसरमा युद्धविराम लागू गर्ने घोषणा गरेको छ भने युक्रेनले मे ६ देखि गोलीबारी रोक्ने बताएको छ ।

जेलेन्स्कीले जारी वक्तव्यमा भन्नुभएको छ, “यस्तो क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू निरन्तर जारी राख्दै प्रचारात्मक उत्सवका लागि युद्धविरामको माग गर्नु पूर्ण सनकीपन हो ।” उहाँले रुसले चाहेको कुनै पनि क्षण युद्धविराम गर्न सक्ने भए पनि त्यसले आक्रमण रोक्न अस्वीकार गरिरहेको आरोप लगाउनुभयो ।

रुसको विजय दिवस परेड सामान्यतया सैन्य शक्तिको प्रदर्शनका रूपमा परिचित छ । यसमा सन् २०२२ पछि युक्रेनमाथिको आक्रमणलाई दोस्रो विश्वयुद्धको ऐतिहासिक विजयसँग जोडेर प्रस्तुत गर्ने प्रयास हुँदै आएको छ । तर यस वर्ष क्रेमलिनले सम्भावित युक्रेनी आक्रमणको डरले परेडको आकार घटाउँदै सैन्य हार्डवेयर प्रदर्शन नगर्ने निर्णय गरेको छ ।

यसैबीच, युक्रेनले पछिल्ला हप्तामा लामो दूरीका प्रतिआक्रमण तीव्र पारेको छ । सोअन्तर्गत मस्कोमा रहेका तेल संरचना र एक उच्च भवनलाई समेत लक्षित गरिएको छ । यी आक्रमणहरूलाई रुसले युक्रेनी सहरहरूमा भएको ड्रोन र क्षेप्यास्त्र हमलाको प्रतिउत्तरका रूपमा प्रस्तुत गरेको छ ।

पोल्टावा क्षेत्रमा भएको पछिल्लो रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । मृतकमध्ये युक्रेनको ऊर्जा कम्पनी नाफ्तोगाजका तीन कर्मचारी र दुई जना उद्धारकर्मी रहेका छन् । युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिगाले उक्त आक्रमणलाई ‘अमानवीय रणनीति’ भन्दै तीव्र निन्दा गर्नुभयो । उहाँका अनुसार उद्धारका लागि पुगेका पहिलो प्रतिक्रियाकर्मीहरूलाई समेत लक्षित गरी गरिएको दोहोरो प्रहारले आक्रमणलाई अझ क्रूर बनाएको छ ।

अधिकारीहरूका अनुसार उत्तरपूर्वी खार्किभ क्षेत्रमा भएको अर्को आक्रमणमा पनि एक जनाको मृत्यु भएको छ । रुसले देशभर ११ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र १६४ वटा ड्रोन प्रहार गरेको बताइएको छ । उता रुसको रक्षा मन्त्रालयले सोमबारदेखि मङ्गलबार बिहानसम्म ३०० भन्दा बढी युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ ।

युद्धविरामको औपचारिक घोषणा भए पनि युद्ध अन्त्य हुने कुनै सङ्केत देखिएको छैन । दुवै पक्षबीच सानो अवधिको अस्थायी युद्धविराम पहिले पनि देखिएको थियो । विशेष गरी धार्मिक इस्टर पर्वको समयमा केही समयका लागि आक्रमण रोकिएको थियो ।

मस्कोले युक्रेनलाई पूर्वी डोनबास क्षेत्रबाट सेना फिर्ता लिन र पश्चिमी सैन्य सहयोग त्याग्नुपर्ने शर्त राखिरहेको छ, जसलाई किएभले आत्मसमर्पणसरह भन्दै अस्वीकार गर्दै आएको छ ।

युद्ध मैदानमा रुसको अग्रता पनि कमजोर हुँदै गएको देखिएको छ । युद्ध अध्ययन संस्थानको तथ्याङ्क विश्लेषणअनुसार रुसले पछिल्ला महिनामा कब्जा गरेको भन्दा बढी क्षेत्र गुमाएको छ । यो सन् २०२३ यता पहिलो पटक हो ।

यो युद्ध दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा ठूलो र रक्तपातपूर्ण द्वन्द्वका रूपमा विकसित भएको छ, जसले लाखौँको ज्यान लिएको र करोडौँलाई विस्थापित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.