सुदुरपश्चिममा काँग्रेस र एमालेका नयाँ अनुहार सरकारमा सामेल हुँदै

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठन गरिँदै छ ।

सत्ता साझेदार दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई पठाउने निर्णय गरेसँगै सुदूरपश्चिमको मन्त्रिपरिषदमा नयाँ अनुहार आउने भएका हुन ।

पार्टीभित्र लामो समयदेखि चुलिएको असन्तुष्टि साम्य पार्न र पालैपालो मन्त्री पद बाँड्ने रणनीतिका साथ नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराउने तयारी गरिएको हो । नेकपा एमालेले मन्त्री बन्नेहरूको सूची मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाइसकेको छ ।

हाल सरकारमा रहेका एमालेका मन्त्रीहरू बाहिरिनेछन् र उनीहरूको ठाउँमा नयाँ मन्त्रीहरु आउनेछ। एमालेबाट संसदीय दलका उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई मन्त्री बनाउने निर्णय भएको छ ।

नयाँ नियुक्त हुने मन्त्रीहरूको नामावली मुख्यमन्त्रीको कार्यालयमा पठाइसकिएको छ । हाल सुदूरपश्चिम सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की छन् ।

पार्टीले उनीहरू तीनै जनासहित भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउदलाई पनि सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ ।

यता, नेपाली कांग्रेसले पनि आफ्ना सबै मन्त्री फेर्ने निर्णय गरेको छ । हाल कांग्रेसका तर्फबाट आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का तथा राज्यमन्त्रीहरू प्रकाश बम र सरस्वती खड्का सरकारमा छन् ।

उनीहरू सबैलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन लागिएको हो । यद्यपि, कांग्रेसले नयाँ मन्त्रीहरूको अन्तिम नामावली भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।

केही समयअघि मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसकै ९ जना सांसदले अविश्वासको प्रस्तावसमेत दर्ता गराएका थिए ।मन्त्री बन्न नपाएको भन्दै सुरु भएको सो विद्रोह मत्थर पार्न मुख्यमन्त्रीले अहिले नयाँलाई अवसर दिन लागेका हुन् । मन्त्री बन्नेहरूमा मुख्यमन्त्री पक्ष र अविश्वासको प्रस्ताव पेस गर्ने विद्रोही पक्ष दुवैतर्फका सांसद समेटिने बताइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.