अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा योगाभ्यास कार्यक्रम

पोखरा– आज १२ औं अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा अवसरमा पोखरामा योगाभ्यास कार्यक्रम आयोजना गरियो ।

भारतीय राजदूतावासको आयोजनामा पर्यटकीय राजधानी पोखराको रङ्गशालामा योगाभ्यास गरेर योग दिवस मनाइएको हो ।

पोखरा रङ्गशालामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तवसहित ठूलो संख्यामा पोखरेलीको सहभागिता थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउने बताउनुभएको छ ।

मुख्यमन्त्री पाण्डेले व्यस्त जीवनशैलीका कारण उत्पन्न हुने तनावलाई व्यवस्थापन गर्न दैनिक योग र ध्यान अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

नेपालको भौगोलिक विशिष्टता र ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले हिमालयको फेदमा ऋषिमुनिहरूले तपस्या गरी योगको परम्परालाई अगाडि बढाएकाले नेपाल योगका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनु भयो ।

उहाँले पोखरालाई योग गन्तव्यका रूपमा प्रवद्र्धन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू अगाडि बढाइरहेको समेत जानकारी दिनुभयो ।

उक्त अवसरमा उहाँले विगत तीन वर्षदेखि पोखरामा नियमित रूपमा योग दिवस आयोजना गर्दै आएकोमा भारतीय राजदुतावासप्रति आभार व्यक्त गर्नुभयो ।

यस्ता कार्यक्रमले नेपाल र भारतबीचको परापूर्वकालदेखिको जनस्तरको सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउने उहाँको विश्वास छ ।

त्यसै गरी  भारतीय राजदूतावासका फस्र्ट सेक्रेटरी वशिष्ठ नन्दनले योग दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी पोखरेलीलाई स्वागत गर्नुभयो । यस्ता कार्यक्रमले भारत र नेपालबीचको सम्वन्ध अझै मजबुत हुने पनि उहाँको विश्वास थियो ।

२०१६ देखि २१ जुनमा विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले पनि पारित गरेअनुसार प्रत्येक वर्ष जुन २१ तारिखलाई विश्वभर अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाइन्छ । नेपालको सन्दर्भमा, भारतीय राजदुतावासले विगत तीन वर्षदेखि पोखरास्थित रङ्गशालामा आफ्नो तर्फबाट योग दिवसका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.