आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका आदिकवि भानुभक्त आचार्य केवल कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताउनुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उहाँले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आदिकवि नेपाली चेतनाको आधारशिला र नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । आदिकविका विषयमा खोज अनुसन्धान व्याख्या विश्लेषण र भानु संस्कृति निर्माणमा भानु प्रतिष्ठानको योगदान रहेको छ । ”
भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनुभएको सभामुख अर्यालले बताउनुभयो ।
“साहित्य केवल विद्वान्का लागि होइन, जनताको हृदयमा बस्ने भाषा हो भनी भानुभक्तले सिद्ध गर्नुभयो, आदिकविको लेखनीले नेपाली भाषालाई घरघरमा पु¥यायो, जनजनमा चेतना जगायो, हाम्रो सांस्कृतिक एकतालाई मजबुत बनायो । नेपालभित्र मात्र होइन नेपाल बाहिर रहेका समस्त नेपालीलाई नेपाली भाषाले नै एकताको सूत्रमा बाँध्ने गरेको छ । भानुभक्तले रामायण दिनुभयो । रामायणसहित नेपाली साहित्यले महाकाव्य पायो । त्यही महाकाव्यको क्रम आजसम्म जीवित छ”, उहाँले भन्नुभयो ।
भानुभक्तलाई आजको दिन सम्झनु मात्र होइन, उहाँको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प लिनु आवश्यक रहेकामा सभामुख अर्यालले जोड दिनुभयो । आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच नेपाली भाषा, संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको उहाँले बताउनुभयो ।
भानुभक्तले देखाएको मार्ग–सरलता, स्पष्टता, जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ र भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा सभामुख अर्यालको जोड छ ।
भानुभक्तको सम्मानमा जे जति गरिन्छन् ती सबै नेपाली राष्ट्रियताका पहरेदार कर्म हुन् र नेपाली मौलिकताका परिचायक हुन् । कार्यक्रममा साहित्यकार महेश्वर शर्मा र डा आना एम स्टिरलाई उहाँहरुले नेपाली साहित्य क्षेत्रमा गर्नुभएको योगदानका लागि रथारोहण गरी सम्मान गरिएको थियो ।
साहित्यकार शर्मा उमेर, ज्ञान र सिर्जना वैभवले पाको हुनुहुन्छ । संस्कृतिको खोज र अन्वेषणका लागि समर्पित डा स्टिरले नेपाली लोक साहित्य संस्कृति र नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । उहाँहरूलाई सभामुख अर्यालले सम्मान गर्नुभएको थियो । औपचारिक कार्यक्रम अघि सम्मानित व्यक्तित्वद्वयलाई रथारोहण गरी प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा साहित्यकार एवं विभिन्न विद्यालयका छात्रछात्राको पनि सहभागिता थियो । सो अवसरमा प्रतिष्ठान परिसरमा रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्