कम्युनिस्ट आन्दोलन र समाजवादी सहकार्यबारे गहन छलफल

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव कमरेड तिल्भिन सिल्भाबीच भेटवार्ता सम्पन्न भएको छ।

कोलम्बोस्थित जेभीपीको केन्द्रीय पार्टी कार्यालयमा भएको भेटका क्रममा दुवै नेताबीच विश्व कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, दुबै देशको ऐतिहासिक अनुभव, समकालीन राजनीतिक चुनौती तथा भविष्यको सहकार्यका सम्भावनाबारे गहन विचार–विमर्श भएको थियो।

यसकासाथै भेटका क्रममा लागि नेपाली कम्युनिस्ट पार्टी र जनता विमुक्ति पेरामुनाबीचको आपसी सम्बन्धलाई अझ संस्थागत र सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो। एसियामा रहेका समाजवादी तथा प्रगतिशील राजनीतिक शक्तिबीच वैचारिक, राजनीतिक र सांगठनिक सहकार्यलाई विस्तार गर्दै साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा दुबै नेताले जोड दिएका थिए।

भेटवार्तामा कम्युनिस्ट आन्दोलनको साझा लक्ष्य समाजवादको स्थापना भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विकासतर्फ अघि बढ्न विभिन्न देशका वामपन्थी शक्तिहरूबीच अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र निरन्तर सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत सहमति व्यक्त गरिएको थियो।

यसअघि ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन श्रीलंका पुग्नुभएका संयोजक प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। उक्त सम्बोधनमा संयोजक प्रचण्डले एसियाली समाजवादी शक्तिबीच व्यापक एकता, साम्राज्यवादविरुद्ध साझा प्रतिरोध तथा समाजवादको नयाँ राजनीतिक रूपरेखाको आवश्यकता औंल्याउनुभएको थियो।

सोही भ्रमणका क्रममा भएको यो द्विपक्षीय भेटलाई नेपाल र श्रीलंकाका वामपन्थी आन्दोलनबीचको सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

संयोजक प्रचण्डको श्रीलंका भ्रमणले नेपाली कम्युनिस्ट पार्टी र श्रीलंकाको जनता विमुक्ति पेरामुनाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.