गन्धर्व संस्कृतिका धरोहर धनबहादुर गायकको निधन

पोखरा:
यो दाजुको मिरमिरे आँखा
कस्तो मेरो बिगार्यो दिमाख
नरोऊ मायालु…
(गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक)
गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायकको निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।
पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक हुनुहुन्थ्यो । विसं २०२१ मा जन्मनुभएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत हुनुुहुन्थ्यो ।
गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आउनु भएको थियो । उहाँ “लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ” भन्नेमा विश्वास गर्नुहुन्थ्यो ।
गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बन्नुभएको थियो ।
झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गर्नुभयो तर उहाँको योगदानको कदर कहीँकतैबाट नभएकाले उहाँको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आउनुभएको थियो ।
एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहनुभएको छ ।
लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थप्नुभएको थियो । उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेका छन् ।
सहपाठी, संस्कृतिकर्मी र लोकगायिकाका नजरमा धनबहादुर
स्वर्गीय गायकका सहपाठी कृष्ण थापा उहाँको बारेमा भन्नुहुन्छ- “पोखरा– १६ बाटुलेचौरका धनबहादुर गायक र म स्कूले सहपाठी हौँ । सानैदेखि गीतसङ्गीतप्रति उहाँको रुचि जीवनका अन्तिम प्रहरसम्म उस्तै जीवन्त रह्यो । तत्कालीन समयमा म पोखराको मेयर हुँदा उहाँ कार्यालय सहयोगी हुनुहुन्थ्यो तर उहाँको सङ्गीतप्रतिको झुकाव देखी विन्ध्यवासिनी सङ्गीत पाठशाला खोलेर त्यसको जिम्मा उहाँलाई सुम्पियो । उहाँ सारङ्गी र मादलका सम्राट् नै हुनुहुन्थ्यो । गन्धर्व समाजका संस्थापकसमेत रहनुभएका उहाँ राम्रो गायक, रचनाकार पनि हुनुहुन्थ्यो । एकदमै मिलनसार, मुदुभाषी र सामाजिक व्यक्तित्व गायकको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुर्याएको छ ।”
उहाँले थप्नुभयो- “मैले तत्कालीन समयमा मातृशिशु मितेरी अस्पतालको शिशुस्याहार केन्द्रको सानो भवन उपलब्ध गराएर सारङ्गी पाठशालाका सञ्चालनका लागि होस्टेमा हैँसे गरेको थिएँ । बाटुलेचौरसँगै झलकमान र जनकविकेशरी धर्मराज थापा अनि पछिल्लो समय धनबहादुर गायकसँग लोकसंस्कृतिको गौरवको गाथा जोडिएको थियो । लोकगीत र संस्कृतिको उर्वरभूमि बाटुलेचौरमा अहिले लोकबाजा सारङ्गी सिक्न नयाँ पुस्तालाई उहाँले नै आकर्षित गर्नुभएको थियो । उहाँको निधनले गन्धर्व संस्कृतिमा ठूलो क्षति पुगेको छ ।”
तीर्थ श्रेष्ठ, साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ स्वर्गीय गायकलाई सम्झँदै भन्नुहुन्छ- “धनबहादुर गायक लोकसंस्कृति एक सशक्त धरोहर हुनुहुन्थ्यो । लामो समयदेखि म उहाँसँग परिचित छु, डाँफे कला मन्दिर आरम्भदेखि हामी सँगै भयौंँ । बहुप्रतिभाशाली उहाँ गायन, वाद्यवादन, नृत्य तीनै कुरामा पोख्त हुनुहुन्थ्यो । उहाँको गायक सरोजगोपालसँग पनि निकै राम्रो सम्बन्ध थियो । पोखराको कुनै पनि साङ्गीतिक गतिविधिमा धनबहादुर भएनन् भने के भएन जस्तो लाग्थ्यो । पछिल्लो समय झलकमान गन्धर्व सारङ्गी संरक्षण पाठशाला खोलेर उहाँले नयाँ पुस्तालाई सारङ्गी र मादल सिकाई संस्कृति हस्तान्तरण गर्नुभयो । यो उहाँको निकै महत्पूर्ण योगदान हो । उहाँले क्रिश्चियन धर्म अपनाए तापनि हिन्दूधर्ममा उस्तै आस्था र श्रद्धा थियो । विन्ध्यवासिनी मन्दिरमा दशैँका समयमा सारङ्गी र मादलको धुनबाट मादलबाट मालश्री धुन बजाउन उहाँले सहयोग गर्नुभयोे । पोखराको महत्वपूर्ण साङ्गीतिक सङ्घसंस्थामा उहाँको संलग्नता थियो, उहाँ जस्तो कर्मठ सर्जक सम्भवतः अब यस क्षेत्रमा पाउन निकै मुश्किल पर्नेछ ।”
हरिदेवी कोइराला, प्राज्ञ एवम् लोकगायिका हरिदेवी कोइराला स्वर्गीय गायकका बारेमा यसो भन्नुहुन्छ- “बाटुलेचौरको माटो लोकसंस्कृतिले सिञ्चित छ । गन्धर्व समुदायको बस्ती पनि यस क्षेत्रको एउटा विशेषता हो । सामाजिक मूल्यमान्यता, रहनसहन, संस्कृति र संस्कारको प्रतिविम्ब लोकगीतको मौलिकतामा भेटिने यस क्षेत्रका सर्जक धनबहादुर गायकको निधनले अपूरणीय क्षति पु¥याएको छ । उहाँ अजर –अमर गीतका सर्जक मात्र नभई कुशल वाद्यवादक पनि हुनुहुन्थ्यो । उहाँ पोखरेली सङ्गीतका क्षेत्रमा मात्र नभई नेपालको सङ्गीत क्षेत्रको एउटा असल सङ्गीतकर्मी पनि हुनुहुन्थ्यो । उहाँ पुर्खाको चिनोलाई जर्गेना गर्न तल्लीन हुनुभयो । उहाँले पछिल्लो पुस्तालाई सारङ्गीको संरक्षणमा सहभागी गराउनुभयो । लोकसंस्कृति विशेष गरी सारङ्गी संरक्षणमा उहाँले पुर्याएको योगदान निकै महत्वपूर्ण छ ।”






प्रतिक्रिया राख्नुहोस्