सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन-नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।
कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै छ । प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ्ने छ । निर्माण कम्पनीले एउटा एक्साभेटर र लोडर तुइन खोलमा ल्याई सकेको छ ।
घिमिरेका अनुसार दैनिक दुई/तीन घण्टा सडक रोकेर काम गरेमा दुई महिना हाराहारीमा जोखिमपूर्ण ढिस्काहरु झार्न सकिने अनुमान छ । दिउँसोको समयमा सवारी चाप कम हुने भएकाले सोही समय सवारी रोक्नका लागि प्रशासनसँग आग्रह गरिने उहाँले जानकारी दिनुभयो । यो सडक राजधानीको ‘लाइफलाइन’ हो । दैनिक १० हजार हाराहारी सवारीसाधन यही सडक हुँदै गुड्ने गर्दछन् ।
बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आडको नारायणगढतर्फको भित्तो र नाम्सिको मुग्लिन पट्टीको ढिस्कोको पहिरोको जोखिम हटाउने कामका लागि रु २२ करोड २१ लाखमा ठेक्का सम्झौता गरेको छ । अबको १० महिनामा दुवै ठाउँको काम सक्नुपर्ने छ ।
पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरु तल झार्नु पर्नेछ । त्यसपछि भित्तोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ । यसलाई ‘नेलिङ’ भनिन्छ । दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो ।
पहिरोको उच्च जोखिममा रहेको तुइन खोलामा गत वर्षको असोज ३ र ७ गते पहिरो खस्दा एक सय घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । सो ढिस्को १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइ छ । नम्सिको मुग्लिन पट्टीको ढिस्को ६० मिटर अग्लो र १०० मिटर लम्बाइ रहेको छ । केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा तुइन खोलामा गत वर्ष एकाएक पहिरो खसेपछि सो ठाउँ उच्च जोखिममा परेको हो ।
सो सडक खण्डमा मध्यमदेखि उच्चसम्म गरी ४३ ठाउँमा पहिरोको जोखिम रहेको छ । जुनसुकैबेला पहिरो खस्नसक्ने भएकाले पहिरो पन्छाउन मुग्लिन र सेती दोभानमा तयारी अवस्थामा उपकरणहरु राखिएको छ । मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनि एक्साभेटर राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.