देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

दुवै मृतकलाई शहीद घोषणा गरिने

काठमाडौँ- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।

गए राति सम्पन्न वार्तापछि दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिपत्रमा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकले हस्ताक्षर गर्नुभएको छ भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रतिपरिवार रु १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिने छ । देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियतका सम्बन्धमा तत्काल छानबिन थालिने भएको छ ।

सम्झौताअनुसार दुवै मृतकका परिवारका योग्य एक–एक जना सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ भने छानबिन समितिको सुझावका आधारमा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति उद्यान निर्माण गरिने छ ।

सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास पीडित परिवारले व्यक्त गरेका छन् भने सरकारका तर्फबाट सम्झौतामा उल्लिखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ । मेहताद्वयको आजै अन्त्येष्टि गरिने भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.