क्यान्सर पीडित श्रीमतीसँगै सुनकोशीमा हेलिएका पराजुली दम्पतीको अवस्था अझै अज्ञात

काभ्रे- बोनम्यारोसम्बन्धी क्यान्सरबाट पीडित श्रीमतीलाई पिठ्युँमा बोकेर हिँडेका मण्डनदेउपुर नगरपालिका–७ कुन्तावेशीका केदारनाथ पराजुली गत बुधबार साँझ श्रीमतीसहित सुनकोशी नदीमा हामफाले । सुनकोसीको भेलमा हेलिएका ५५ वर्षीय केदारनाथ र उनकी श्रीमती तिलककुमारी पराजुलीको अबस्था अझै अज्ञात छ ।

घटनालगत्तैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरूको खोजी गरिरहेको छ । शुक्रबार पनि खोजीलाई निरन्तरता दिइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनका अनुसार जिल्ला सुरक्षा निकायका टोली परिचालन गरी नदी आसपासको क्षेत्रमा खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीका अनुसार बेपत्ता दम्पतीको खोजीमा र्‍याफ्टिङ बोट, ड्रोन र गोताखोरसमेत प्रयोग गरिएको छ ।

‘घटनालगत्तैदेखि खोजीमा सुरक्षाकर्मी परिचालन भएका छन्,’ उनले भने, ‘सम्भावित सबै क्षेत्रमा खोजी भइरहेको छ ।’

सशस्त्र प्रहरी बल गण नं १५ हेडक्वार्टर काभ्रेका प्रमुख एसपी माधव रेग्मीका अनुसार बुधबारदेखि नै सुरक्षाकर्मीको टोली निरन्तर खोजीमा खटिएको छ । सुनकोशीको बहाव, गहिराइ र भौगोलिक अवस्थाका कारण खोजीमा कठिनाइ भइरहेको उनले बताए । ‘निरन्तर खोजी भइरहेको छ, तर अहिलेसम्म उहाँहरूको कुनै जानकारी प्राप्त हुन सकेको छैन,’ उनले भने ।

केदारनाथकी श्रीमती तिलककुमारी विगत दुई वर्षदेखि बोनम्यारोसम्बन्धी क्यान्सरबाट पीडित थिइन् । उनको उपचारका लागि परिवारले लामो समयदेखि प्रयास गरिरहेको थियो । उपचारकै क्रममा रहेका उनीहरूलाई आर्थिक अभावले मात्रै यस्तो कदम चाल्नुपर्ने अवस्था नरहेको मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले बताए ।

‘परिवार आर्थिक रूपमा सक्षम नै हुनुहुन्छ । उपचार गराउन नसक्ने अवस्था थिएन,’ उनले भने, ‘उहाँहरूले श्रीमतीको उपचारका लागि लामो समयदेखि प्रयास गरिरहनुभएको थियो । त्यसैले यो घटनाको पछाडि उपचार खर्चबाहेक अरू कुनै कारण हुन सक्छ ।’

परिवारले तिलककुमारीको उपचारका लागि सक्दो प्रयास गरिरहेको स्थानीयको भनाइ छ । तर, लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी श्रीमतीको अवस्था, निरन्तरको उपचार प्रक्रिया र परिवारमाथि परेको मानसिक तथा सामाजिक दबाबले केदारनाथलाई यस्तो निर्णयसम्म पुर्‍याएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण भने खुलिसकेको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.