वन संरक्षणपछि फर्किए पानीका मुहान, बढ्यो आयआर्जन

कञ्चनपुर- दुई दशकअघिसम्म कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीका ५९ वर्षीय किसनसिंह भण्डारीका लागि खेतीपाती मौसमको भरमा चल्थ्यो । खेत थियो, तर खेतमा पानी थिएन । गाउँ वरपरका पानीका मुहान सुक्दै गएपछि खेतीका लागि आकाशको भर पर्नुपर्थ्यो ।
समयमै पानी नपर्दा रोपाइँमा ढिलो त हुन्थ्यो नै । कहिलेकाहीँ त भदौ लाग्दासम्म रोपाइँ गर्न नपाएको भण्डारी सम्झिनुहुन्छ । पानीको अभावले खेतहरु बाँझिँदै गएपछि स्थानीयले मजदुरी गरेर परिवार पाल्न बाध्य भएको उहाँ बताउनुहुन्छ ।
“खेतीपातीका लागि आकाशे पानी कुर्नुपथ्र्यो । कहिलेकाहीँ रोपाइँ गर्दा भदौ नै लाग्थ्यो,” भण्डारीले भन्नुभयो, “त्यतिबेला वन संरक्षण गर्नुपर्छ भन्ने चेतना थिएन । सबैतिर वन फँडानी र तस्करी हुन्थ्यो । त्यसले यहाँका धेरै पानीका मुहान सुकिसकेका थिए ।”
तर अहिले यहाँको अवस्था फेरिएको छ । गाउँ वरपरका सामुदायिक वन हराभरा छन् । वन क्षेत्रमा रहेका पुराना पानीका मुहानमा फेरि पानी देखिन थालेको छ । त्यही पानी नहर हुँदै खेतसम्म पुगेपछि कुनै बेला बाँझो रहेका खेतमा फेरि खेती हुन थालेको छ ।
यो समस्या बेदकोट–६ मुसेपानीको मात्रै थिएन । बेदकोट नगरपालिका–४ धरमपुरका विशुराम दमाईंले पनि वन फँडानी र पानीको अभावसँगै खेत बाझिँदै गएको समय देख्नुभएको छ । दमाई अहिले बछेला सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष हुनुहुन्छ ।
“पहिले यहाँ पानीको निकै समस्या थियो । खेती गर्न नसकेर खेतहरु बाँझै हुन्थे,” उहाँ भन्नुहुन्छ, “अहिले वन संरक्षण गरेपछि मुहानमा पानीको मात्रा बढेको छ । पक्की नहर बनाएर टोल–टोलमा सिँचाइ पु¥याएका छौँ ।”
समुदायले सम्हालेपछि फेरियो वन
२०५६÷५७ पछि कञ्चनपुरका चुरे क्षेत्र आसपासका वन सामुदायिक वनका रुपमा व्यवस्थापन गर्ने क्रम सुरु भयो । वन संरक्षणको जिम्मेवारी स्थानीय उपभोक्ताको आँधमा आएपछि चोरी, फडानी नियन्त्रण, वृक्षारोपण र डढेलो नियन्त्रणमा समुदाय सक्रिय हुन थाले । वन संरक्षणको परिणाम स्थानीयले जंगलमा मात्रै होइन, पानी र खेतमा पनि देख्न थाले ।डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाको कुल क्षेत्रफलको ४८ दशमलव ७२ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ । कुल ७८ हजार ७९७ हेक्टर वन क्षेत्रमध्ये मोहना–लालझाडी वन संरक्षण तथा राष्ट्रपति चुरे संरक्षण क्षेत्रअन्तर्गत ३१ हजार ५३१ हेक्टर क्षेत्र पर्छ । जिल्लामा १४२ वटा सामुदायिक वन छन् । यी वनको संरक्षणमा उपभोक्ता समूहको भूमिका महत्वपूर्ण रहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीप्रसाद जोशीले बताउनुहन्छ ।
जंगल जोगिदा खेतमा पानी
मुसेपानी र आसपासका सामुदायिक वनमा अहिले स्थानीय उपभोक्ता नै वन संरक्षणमा सक्रिय छन् । वन फँडानी नियन्त्रण, वृक्षरोपण, डढेलो नियन्त्रण र वन क्षेत्रको नियमित निगरानी उनीहरुको दैनिकीको हिस्सा बनेको छ । वन संरक्षणको प्रत्यक्ष लाभ भने स्थानीयले पानी र खेतीमा देख्न थालेका छन् । कुनै बेला आकाशे पानीको भरमा रोपाइँ कुर्नुपर्ने किसान अहिले मुहान र खोलाबाट आएको पानीले खेत सिँचाइ गर्न पाउँछन् ।
स्थानीयका अनुसार चुरे क्षेत्रमा कुनै बेला बाँझो रहने झण्डै डेढ सय हेक्टरभन्दा बढी क्षेत्रमा अहिले सिँचाइ सुविधा पुगेको छ ।बछेला सामुदायिक वन संरक्षणपछि पाँच वटा पानीका मुहानमा पानीको मात्रा बढेको स्थानीयको भनाइ छ । ती मुहानबाट नहर निकालेर करिब ५०–६० हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको बछेला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विसुराम दमाई बताउनुहुन्छ ।
“पहिले मुहान सुकेर खेत बाँझै हुँदा ज्याला मजदुरी गरेर परिवार पाल्नुपथ्र्यो,” उहाँ भन्नुहुन्छ, “अहिले जंगल हराभरा भएपछि पाँच वटा मुहान फर्किएका छन् । त्यसबाट नहर निकालेर करिब ५०–६० हेक्टरमा सिँचाइ भइरहेको छ ।”
बेदकोट नगरपालिका–५ र ६ मा पर्ने चुनेपानी खोला र बछेली खोलामा समेत पानीको बहाव बढेको स्थानीय बताउँछन् ।यसको प्रभाव खेतमा मात्रै परेको छैन । पानी उपलब्ध भएपछि खेतीको क्षेत्र विस्तार र उत्पादन पनि बढेको छ । खेतीमा निर्भर परिवारको आम्दानीको आधारसमेत फराकिलो भएको कृष्णपुर नगरपालिका २ बाणीकी स्थानीय विस्पतिदेवि चौधरीले बताउनुभयो ।
चुरेमा फर्किंदैछन् पानीका मुहान
कञ्चनपुरमा र चुरेसँग जोडिएका १७ वटा सामुदायिक वन छन् । वन संरक्षणपछि पानीको मुहान र त्यसले स्थानीय जीवशैलीमा आएको परिवर्तनलाई चुरे संरक्षणकर्मीले पनि अनुभव गरेका छन् । चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुवँरका अनुसार भीमदत्त नगरपालिका–९ ब्रह्मदेव, भीमदत्त नगरपालिका–८ तिलाचौर, भीमदत्त नगरपालिका–१ रौटेला तथा बेदकोट नगरपालिका–७ र ८ का सामुदायिक वनका १० भन्दा बढी स्थानमा पानीका मुहान फर्किएको अनुभव गरिएको छ ।वन संरक्षणसँगै जमिनमा पानीको पुनर्भरण बढ्दा मुहानमा पानीको स्रोत बलियो बन्ने उहाँको भनाई छ ।

वनले दिएको आम्दानी
कञ्चनपुरमा वन संरक्षणपछि यसको प्रभाव पानी र खेतीमा मात्र सीमित नभएर स्थानीय समुदायको रोजगारी र आयआर्जसँग पनि जोडिएको छ । वनको हरियाली, जैविक विविधता, प्राकृतिक वातावरण र स्थानीय संस्कृतिलाई पर्यटनसँग जोड्न थालेपछि स्थानीयले आयआर्जनका नयाँ बाटाहरु खोजेका छन् । कतिपय सामुदायिक वनले होमस्टे सैचालनमा ल्याएका छन् भने धेरैले उपभोक्ताहरुलाई तरकारी खेती, बेसार खेती, अमृसो खेती र दुना टपरी जस्ता आयआर्जनका कार्यक्रममा जोडेका छन् ।
विजयसाल सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष बसन्ती रानाका अनुसार वन संरक्षणपछि प्राकृतिक वातावरणसँगै पर्यटनको सम्भावना बढेको छ । २०६८ सालमा ६८ दशमलव ६२ हेक्टर क्षेत्रफलबाट सुरु गरिएको सामुदायिक वन अहिले विस्तार भएर १२७ दशमलव ४९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सुरुवातदेखि नै महिलाहरुले नेतृत्व गर्दै आएको यस सामुदायिक वनले संरक्षणसँगै स्थानीयस्तरमै रोजगारी सृजना गरेको उहाँको भनाई छ ।
“पहिले घरमा यत्तिकै बस्थ्यौँ, सिजनमा ज्याला मजदुरी गथ्र्यौँ,” रानाले भन्नुभयो, “हामीले वन संरक्षण गर्यौ, वनबाट हामीलाई होमस्टे संचालनको अवसर मिल्यो र अहिले घरमै होमस्टे चलाएर राम्रो आम्दानी गरिरहेका छौँ ।”
उहाँका अनुसार अहिले त्यहाँ छ वटा होमस्टे सञ्चालनमा छन् । होमस्टेमा आउने पाहुनाका लागि स्थानीय उत्पादनबाट खाना तयार गरिन्छ । गाउँमै उत्पादन भएका तरकारी, अन्न, दूधलगायतका वस्तु खपत हुन थालेका छन् । यसले स्थानीय उत्पादनका लागि गाउँमै बजारसमेत सिर्जना गरेको छ ।
पानीसँगै फर्किएको भरोसा
यता, मुसेपानीका किसानका लागि वन संरक्षणको अर्थ अहिले पहिलेभन्दा फरक छ । पहिले जंगलबाट काठ, दाउरा र घाँसको आवश्यकता पूरा हुन्थ्यो । वन फँडानी बढ्दा त्यसको असर पानीका मुहानमा प¥यो र मुहान सुकेपछि खेती प्रभावित हुँदा आम्दानी घट्यो । तर वन संरक्षण सुरु भएपछि अहिले जनजीवन निकै सहज भएको स्थानीय बताउँछन् । उनीहरुले आयआर्जनका नयाँ नयाँ अवसरका बाटा खुलेका छन् ।
दुई दशकअघि पानीका लागि आकाशतिर हेर्ने किसनसिंह भण्डारी अहिले आफ्नै खेतमा पानी बगेको हेर्न पाउनुहुन्छ । उहिले रोपाइँ नै गर्न नसकिने खेतमा अहिले सिँचाइ पुगेको छ । वन क्षेत्र पनि हराभरा देखिन्छ । गाउँमा पानीको उपलब्धता प्रशस्त छ । भण्डारीको अनुभवमा यो परिवर्तन एकैदिन आएको होइन । यहाँका समुदायको अढाइ दशकदेखि वन जोगाउन गरेको प्रयासको प्रतिफल हो ।
भण्डारीका लागि यो जंगल फर्किएको मात्रै कथा होइन, पानीसँगै खेती र जीवन फर्किएको कथा हो ।






प्रतिक्रिया राख्नुहोस्