भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित
बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रमा रहेका भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेका छन्

काठमाडौं – भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रमा रहेका भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेका छन् ।
बाढीका कारण क्षतिग्रस्त सीमा क्षेत्रमा पछिल्लो तीन दिनदेखि गरिएको निरन्तर प्रयासपछि नेपाली सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापित गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
बाढीको प्रभाव र नदी कटान अझै जारी रहेकाले नेपालतर्फबाट सीमा पहिचान गरी झण्डा पुनःस्थापना गर्न निकै कठिन भएको थियो ।
जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको राष्ट्रिय झण्डा फहराइएको सचिवालयले जनाएको छ ।
भोटेकोशी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका विभिन्न संरचनामा क्षति पुर्याउनुका साथै सीमा पहिचानमा समेत चुनौती सिर्जना गरेको थियो । सीमा क्षेत्रमा बाढी तथा कटानबाट भएको क्षतिको अवस्थाबारे थप अध्ययन तथा व्यवस्थापनको कामसमेत भइरहेको जनाइएको छ।






प्रतिक्रिया राख्नुहोस्