मुस्ताङमा जलवायु परिवर्तन सम्मेलन, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने

मुस्ताङ– हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलवारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ । हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको आयोजना गरिएको हो ।
बुधवारसम्म दुई दिन चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असरले मुस्ताङसहित हिमाली क्षेत्रको वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा परिरहेको प्रभावबारे छलफल गरिने घरपझोङ गाउँपालिकाले जनाएको छ । जलवायु परिवर्तनका असरहरु न्यूनीकरण, अनुकूलन तथा स्थानीय तहबाट अपनाउन सकिने उपायका विषयमा समेत सम्मेलनमा सरोकारवालाबीच अन्तत्र्रिmया र छलफल हुनेछ ।
पछिल्लो समय माथिल्लो क्षेत्रको मौसममा आएको परिवर्तन, हिमपातको समय र परिमाण, अनियमित वर्षा, पानीका स्रोतमा देखिएको परिवर्तनले स्थानीय समुदायलाई असर पारिरहेको छ । जलवायु परिवर्तनको असर वातावरणमा मात्रै नभई समग्र कृषि प्रणाली, पशुपालन, पर्यटन र दैनिक जीवनयापनमा समेत देखिन थालेको भन्दै स्थानीयवासीले चिन्ता गरेका छन् । सम्मेलनमा मुस्ताङलगायत हिमाली जिल्लामा जलवायु परिवर्तनको असर उच्च देखिएकाले त्यसलाई न्यूनीकरण गर्न सकिने विषयमा स्थानीय तहबीच व्यापक छलफल गरिनेछ ।
जलवायु परिवर्तनले पारेको असरलाई कम गर्न स्थानीयस्तरमा अनुकूलनका कार्यक्रम सञ्चालनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट जलवायु सम्बन्धी न्याय र सहयोगको ध्यानाकर्षणसहित सबैलाई अवगत् गराउन कार्यक्रम आयोजना गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले बताउनुभयो । सम्मेलनबाट मुस्ताङसहित हिमाली क्षेत्रमा देखिएका जलवायुजन्य समस्यालाई स्थानीय मुद्दाको रूपमा नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषयका रुपमा समेत उठाइने उहाँले जानकारी दिनुभयो । सम्मेलनले जलवायु परिवर्तनको जोमिख कम गर्ने सवालमा स्थानीय पालिकाहरुको बीचमा नीति निर्माणबारे विचार मन्थन हुने जनाइएको छ ।
सम्मेलनले जलवायु परिवर्तनको असर न्यूनीकरणमा पालिकामार्फत गर्न सकिने काम तथा नीति निर्माणमा आवश्यक पहल र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षणका लागि साझा धारणा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जोमसोममा आयोजित सम्मेलनमा देशैभरबाट ४ सय २१ वटा पालिकाहरु र ३६ वटा जिल्ला समन्वय समितिले सहभागिता जनाएका छन् । सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापा मगरले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्