आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

काठमाडौँ- विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उहाँले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । उहाँले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई नेतृत्व गर्नुभयो ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभएको थियो ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका उहाँले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताउनुभयो ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरूद्ध सक्रिय रहनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.