धाङ्सीखोलामा पक्की पुल बन्ने
रोल्पा- रोल्पाको सदरमुकाम लिबाङदेखि ह्वामा हुँदै कुरेली जोड्ने सडकको धाङ्सीखोलामा पक्की पुल बन्ने भएको छ ।
यो पुलको शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गर्नुभएको छ ।
पुल शिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो समय रोल्पाको विकासमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो । ‘प्रत्येक पालिका जोड्ने सडक स्तरोन्नति, प्रदेशको गौरवको आयोजना अन्तर्गत जीवराज आश्रित मार्ग सञ्चालन गरेका छौं’ पोखरेलले भन्नुभयो ।
रोल्पा क्रान्तिमा अगाडि भएकाले क्रान्तिलाई विकासमा परिणत गर्नुपर्ने उहाँको भनाइ थियो ।
धाङ्सीखोला पुलको कुल लम्बाई ६० मिटर र चौडाई ८.४ मिटर रहेको सडक पूर्वाधार विकास कार्यालय रोल्पाले जनाएको छ । प्रदेश सरकारको लगानी रहेको पुल निमार्णको जिम्मा एसियटिक राज जेभीले लिएको छ ।
२०७७ असोज २५ मा सम्झौता भई दुई वर्षभित्र सम्पन्न गर्ने गरी ५ करोड ६१ लाख ५९ हजारमा निर्माणको ठेक्का दिएको सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त प्रमुख नबिन श्रेष्ठले जानकारी दिनुभयो ।
पुल नहुँदा यसअघि धाङ्सीखोलाबाट सवारीसाधन आवत–जावतमा समस्या हुँदै आएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्