करिब २० किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौः प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट करिब २० किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बुढानीलकण्ठ क्षेत्रमा सञ्चालन गरेको अपरेसनका क्रममा उनीहरूलाई सुनसहित पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार बरामद सुनको परिमाण करिब २० किलो रहेको छ । सुन कहाँबाट ल्याइएको थियो, कसको स्वामित्वमा थियो र यसको कारोबारमा अन्य व्यक्ति तथा समूहको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

सुनसहित पक्राउ परेका तीनै जना चिनियाँ नागरिक रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूको नाम तथा अन्य विवरण भने तत्काल सार्वजनिक गरिएको छैन ।

घटनाबारे प्रहरी प्रधान कार्यालयले समेत पुष्टि गरेको छ । कार्यालयले बरामद सुन, पक्राउ परेका व्यक्तिको विवरण तथा घटनासँग सम्बन्धित थप तथ्य सार्वजनिक गर्न शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा अपरेसन सञ्चालन गरेको जनाउँदै घटनाको थप अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुनको स्रोत, नेपालमा यसको प्रवेश तथा कारोबारमा संलग्न अन्य व्यक्तिबारे प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ ।

प्रहरीले यस घटनालाई सुनको अवैध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको भए पनि यसको वास्तविक प्रकृति र संलग्नताबारे विस्तृत विवरण पत्रकार सम्मेलनबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.