पृथ्वी राजमार्ग अझै अवरुद्ध, यात्रु र मालवाहक सवारीसाधन प्रभावित
धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको घाटबेँसी नजिक सडक भासिएको र गल्छी गाउँपालिकाको भल्टारमा खाना पकाउने ग्यास बोकेको बुलेट पल्टिएको घटनापछि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन। शुक्रबार साँझ ५ बजेदेखि अवरुद्ध राजमार्गका कारण यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
भदौ १० र १४ गते आएको बाढीका कारण सडकको जग कमजोर बनेपछि गजुरी गाउँपालिकास्थित घाटबेँसी नजिक सडकको छेउपट्टिको भाग भासिएको हो। सम्भावित दुर्घटना रोक्न प्रहरीले उक्त खण्डमा दुवैतर्फबाट सवारी आवागमन रोकेको छ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट पूर्वी नेपालतर्फ जाने सवारीसाधन लामो जाममा परेका छन्। प्रहरीले ती सवारीसाधनलाई त्रिभुवन राजपथअन्तर्गत नौबिसे–टिस्टुङ हुँदै हेटौँडातर्फ पठाइरहेको छ।
त्यस्तै, काठमाडौँतर्फ आउने साना तथा यात्रुवाहक सवारीसाधनलाई नुवाकोट हुँदै टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौँमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न आएका मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन्। सडक अवरुद्ध रहँदा यात्रुले सास्ती खेप्नुपरेको छ भने सामान ढुवानीमा समेत समस्या भएको छ।






प्रतिक्रिया राख्नुहोस्