भोटेकोशी बाढी प्रभावित घरधुरीलाई ४५ हजारका दरले नगद सहायता वितरण

काठमाडौं – रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधामन्त्रीको सचिवालयका जनाएको छ । स्थानीय तहसँगको समन्वयमा पहिचान गरिएका बाढी प्रभावित घरपरिवारलाई उक्त रकम उपलब्ध गराइएको हो।
हालसम्म रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ वटा स्थानीय तहका प्रभावित घरपरिवारले नगद सहायता प्राप्त गरेका छन्। तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ।
गत असोज २३ गते केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित घरधुरीको पहिचान, लाभग्राहीको तथ्यांक प्रमाणीकरण तथा शीघ्र पुनर्लाभका कामलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।
रेडक्रस लगायत अन्य विकास साझेदारले समेत नगद सहायता उपलब्ध गराउन चाहेकाले सरकारले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार सहायता वितरण गर्न स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
सहायता वितरण गर्दा एउटै परिवारले दोहोरो सुविधा नपाउने र वास्तविक प्रभावित कोही पनि नछुट्ने व्यवस्था मिलाउन सरकारले सम्बन्धित निकायलाई आग्रह गरेको छ।
यसैबीच, बाढी प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि काम तीव्र पारिएको सरकारले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्