उत्तरी गोरखाको पाँचहजार घरमा बिजुली छैन, विजुलीको तार र पोल सबै बगे

गोरखा- बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत सेवाबाट बञ्चित भएका छन ।
असोज २५ गते चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास-उहिया लघु जलविद्युत् आयोजना बगाएको थियो ।
बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताउनुभयो ।
गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास रजगतमा विद्युत् अवरुद्ध भएको हो ।
जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उहाँले जानकारी दिनुभयो । बाढीले विद्युत्को १२ पोल, एउटा टावर र तारहरू पनि कता पुर्यायो भन्ने पत्तो नभएको गुरुङको भनाइ छ ।
विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउनुहुन्छ ।
उहाँका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । निजी सङ्घसंस्थाहरू र स्थानीय नागरिकहरू पनि मर्कामा परेका उहाँको भनाइ छ ।
हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था समेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताउनुहुन्छ ।
“फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो,” उहाँले भन्नुभयो, “झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ । धन्न मानवीय क्षति भने भएको छैन ।” उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा बिजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ ।।
बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका झनै मर्कामा परेको छ । हाल गाउँपालिकाको सात वटै वडाका करिब चार हजार घर विद्युत्विहीन बनेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिनुभयो । विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उहाँले बताउनुभयो । “बाढीले यहाँको बिजुली, सञ्चार, बाटो–घाटो, पुल सबै बगायो,” उहाँले भन्नुभयो ।
जिल्लाको आरुघाट गाउँपालिकाको ५० घरधुरी पनि विद्युत्विहीन बनेको त्यहाँका पालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आरुघाटको वडा नं ५ शांतीबजार क्षेत्रका ५० घरधुरीमा विद्युत् सेवा अवरुद्ध बनेको छ ।।






प्रतिक्रिया राख्नुहोस्