नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

एजेन्सी- तीन वर्षदेखि जारी युद्ध र देशको भविष्यबारे बढ्दो मतभेदका बीच इजरायली मतदाताले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्न मतदान गर्दैछन् ।

सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ ।

नेतान्याहुले पूर्वसैन्य प्रमुख गदी आइसेनकोटसहित उहाँलाई सत्ताबाट हटाउन खोज्ने दलहरूको चुनौती सामना गर्नुभएको छ । कुनै पनि दलले एक्लै बहुमत ल्याउने सम्भावना नरहेकाले सरकार गठनका लागि गठबन्धन र लामो वार्ता आवश्यक हुन सक्छ । अरब नेतृत्वका दलहरू निर्णायक बन्न सक्नेछन् ।

नेतान्याहुका समर्थकले उहाँलाई युद्धको नेतृत्व गर्न सक्ने अनुभवी राजनीतिज्ञ र यहुदी पहिचानका रक्षकका रूपमा हेर्छन् । तर विपक्षीहरूले भ्रष्टाचारसम्बन्धी मुद्दा, गाजाको युद्ध र बन्धक सङ्कटलाई लिएर उहाँको आलोचना गर्दै स्वतन्त्र न्यायपालिकालाई कमजोर बनाएको तथा अति–रूढिवादी यहुदी पुरुषलाई अनिवार्य सैनिक सेवाबाट छुट दिएको आरोप लगाएका छन् ।

निर्वाचनमा इरानसँगको तनाव र इजरायलको अन्तर्राष्ट्रिय छवि पनि महत्त्वपूर्ण विषय बनेका छन् । गाजा र पश्चिम किनारमा इजरायलको व्यवहार तथा यहुदी बस्तीका बासिन्दाबाट हुने हिंसाका कारण अन्तर्राष्ट्रिय आलोचना बढेको छ । अमेरिकामा इजरायलप्रतिको सार्वजनिक समर्थन घटेको छ भने युरोपका केही साझेदारले प्रतिबन्ध लगाएका छन् ।

आइसेनकोटका समर्थकले उहाँलाई सुरक्षा क्षेत्रको अनुभव भएको नेतृत्वका रूपमा प्रस्तुत गरेका छन् । गाजामा उहाँका छोरा र दुई भतिजाको मृत्यु भएको छ । उहाँलाई समर्थन गर्न सक्ने दलहरूले न्यायपालिकाको स्वतन्त्रता सुदृढ गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने र अति–रूढिवादी पुरुषलाई पनि सैनिक सेवामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.