सुनखानीका माझी र वादी समुदायका घरघरमा धारा
दोलखा- वर्षोँदेखि घण्टौं पानी बोकेर दैनिकी चलाउँदै आएका दोलखा सुनखानीका माझी र वादी समुदायलाई घरमा नै धारा बनेपछि ठूलो राहत पुगेको छ ।
करिब २ घण्टा टाढाबाट पानी बोकेर ल्याउने कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ का स्थानीय अहिले आफ्नै घरमा धारा बनेपछि पानी बोकेर खानुपर्ने बाध्यता हटेको बताउँछन ।
माझी र वादी समुदायको बसोबास रहेको १ सय २२ घरधुरीमा सामुदायिक विकास मञ्च नामक संस्थाले ट्याङ्कीसहित घर-घरमा धारा निर्माण गरेको हो ।
वर्षामा मुल फुटेको मुहानको पानी र अन्य समयमा खोला खहरेबाट पानी ल्याएर खाने गरेको उनीहरुमा पानी घरमा नै आएपछि तरकारी खेतीसमेत गर्न सहज भएको छ ।
सामुदायिक विकास मञ्चको ४१ लाख, कालिञ्चोक गाउँपालिकाको ५ लाख र स्थानीय श्रमदान ५ लाख गरी ५१ लाखको लागतमा ट्याङ्की निर्माण भएको र यही रकमबाट १ सय २२ घरमा धारा जडान गरिएको हो ।
गाउँपालिकाले लिएको एक घर एक धाराको नीति अनुसार धारा निर्माणको लागि दातृ निकायसँग समन्वय गरी पानीको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताउनुभयो ।
खानेपानीको बचत गर्न मिटर जडान गरेका स्थानीयले पानीबाट उठेको रकम समुहमा जम्मा गदै आएका छन ।।






प्रतिक्रिया राख्नुहोस्