मधेसको मौलिक ‘नेटुवा नाच’ लोप हुने अवस्थामा

 रौतहट- मधेस तथा तराई क्षेत्रको मौलिक लोकसंस्कृति, परम्परा र पहिचानसँग जोडिएको नेटुवा नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।

ऐतिहासिक, धार्मिक तथा पौराणिक महत्त्व बोकेको यो नाच मधेसको लोककथा र नटुवा समुदायको पुर्ख्यौली कलासँग सम्बन्धित छ। नेटुवा नाचमा लोकआस्था, सामाजिक भेदभाव, वर्गीय विभेद, रिस, द्वेष, प्रेम तथा कूटनीतिक र भावनात्मक घटनाक्रमलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरिन्छ।

यस नाचमा मुख्यतः पुरुष कलाकारहरूले महिलाको परम्परागत पहिरन साडी, चोलो तथा घाँघरा लगाएर आकर्षक शृङ्गारसहित नृत्य प्रस्तुत गर्ने परम्परा छ। सामान्य नृत्यभन्दा फरक विशेषता बोकेको नेटुवा नाचमा कलाकारहरूले गीतको तालमा नाच्नुका साथै उफ्रिने, फनफनी घुम्ने र विभिन्न शारीरिक कलाबाजीसमेत प्रदर्शन गर्छन्।

ढोलक, झ्याली, हार्मोनियम र नगाडाजस्ता परम्परागत लोकबाजाको तालमा गाइने गीतले यस नाचलाई थप आकर्षक बनाउने गर्छ।

विगतमा गाउँघरमा विवाह, व्रतबन्ध, छठ, दशैँ तथा विभिन्न स्थानीय मेलापर्वमा मनोरञ्जन र शुभकार्यको प्रतीकका रूपमा नेटुवा नाच प्रदर्शन गर्ने चलन थियो।

त्यसैगरी, भाकल पूरा हुँदा तथा देवीदेवताको पूजाआजाका अवसरमा पनि यो नाच देखाउने परम्परा रहिआएको रौतहटका गरूडा नगरपालिकाका स्थानीय संजय साह बताउनुहुन्छ ।

तर आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रभाव, नयाँ पुस्ताको घट्दो आकर्षण तथा कलाकारको अभावका कारण यो मौलिक लोककला संकटमा पर्दै गएको छ।

पुस्तौँदेखि जोगिँदै आएको नेटुवा नाचको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि स्थानीय तह, संस्कृति प्रेमी तथा सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने देखिन्छ।

मधेसको इतिहास, पहिचान र सांस्कृतिक सम्पदाका रूपमा रहेको नेटुवा नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सके मात्रै यस मौलिक लोक-परम्पराको अस्तित्व जोगाउन सकिनेछ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.