पुनर्निर्माणमा फड्कोः सिंहदरवार उदघाटनको लागि तयार, धरहराको ९० प्रतिशत काम सकियो
काठमाडौं– नेपाल सरकारको केन्द्रीय सचिवालयको मूल भवन सिंहदरबार २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएकोमा पुनर्निर्माण सम्पन्न गरी ३ दिनपछि उद्घाटन गर्ने तयारी गरिएको छ । धरहराको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थलगत जानकारी लिनु हुँदा ती संरचनाको प्रगति विवरण जानकारीमा आएको हो ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सवलिकरण सम्पन्न भएको सिंहदरवार र निर्माणाधिन धरहराको स्थलगत अनुगमन तथा निरीक्षण भ्रमण गर्नु भयो । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्य प्रधानमन्त्री कार्यालयका सचिव एवं पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत लगायतको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण भ्रमण गरेको हो । २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पले क्षति पुर्याएको सिंहदरवारको सबलिकरणको काम सम्पन्न भइसकेको छ भने फागुन ३ गते समुदघाटन गर्ने तयारी गरिएको छ ।
सिंहदरवारको अनुगमन भ्रमण लगत्तै प्रधानमन्त्रीको टोलीले निर्माणाधिन धरहराको स्थलगत अनुगमनमा पुग्नु भयो । करिव आधा घण्टा स्थलगत अनुगमनपछि प्रधानमन्त्री ओलीले निर्माणाधिन कामप्रति सन्तोष व्यक्त गर्नु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।
हाल सम्म धरहरा पुननिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाखमा धरहराको उदघाटन गर्ने गरी काम अगाडि बढेको प्राधिकरणले जनाएको छ। निर्माणधिन धरहरा २३ तलाको रहने छ । २३ औं तलाको माथि गजुर रहने छ भने २२ औं तलामा महादेवको मुर्ति सहितको मन्दिर रहने छ । त्यसैगरी २० औं तलामा रहेको बालकोनी अर्थात् कौशीबाट काठमाडौंको दृष्यावलोकन गर्न सकिने छ। १८ औं तलामा धरहराबारे जानकारी दिने सभाकक्ष र संग्रहालय निर्माण गरिने प्राधिकरणले जनाएको छ। त्यसैगरी मुनिको २ तलामा भूकम्प स्मृति संग्रहालय निर्माण गर्ने टक्सार संग्रहालय बनाइने पनि प्राधिकरणले जनाएको छ ।
सरकारले ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने अभियान अन्तरगत ३ अर्ब रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको प्रधिकरणले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्