रञ्जन कोइरालाको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावलोकनमा जाने

काठमाडौं– पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय छुट फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ ।
कोइराला डिल्लीबजार कारागारबाट मुक्त भएलगत्तै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनमा जानेबारे अध्ययन सुरु गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले आफूहरुले मुद्दाबारे गम्भीर अध्ययन गरिरहेको जानकारी दिनुभयो । ‘हाम्रो टिमले गम्भीर अध्ययन गरिरहेको छ,’ उहाँले एनटीभी अनलाइनसँग भन्नुभयो, ‘सम्भवतः आजै वा अर्को दिन पुनरावलोकनमा जान्छौं ।’
प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार नै रिहा भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्