देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेश अपरिहार्य- प्रम ओली

 काठमाडौं- १०४ वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्रको उज्यालो किरण छाएको दिन फागुन ७ गतेको स्मरणमा आज देशभर हर्षोल्लासपूर्वक ७१ औँ प्रजातन्त्र दिवस मनाईंदै छ ।

जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाईंदै आएको हो ।

यसैबीच प्रजातन्त्र स्थापना भएको फागुन ७ गतेको सम्झनामा काठमान्डौँको सैनिकमन्च टुडिखेलमा विशेष समारोहको आयोजना गरियो । सो विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी ,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा , राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु,सांसदहरु,कुटनितिक नियोगका प्रमुखहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेश अपरिहार्य भएको बताउनुभयो ।

शान्तिपुर्ण लोकतान्त्रिक प्रणालीभन्दा अर्को कुनै विकल्प नभएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानतातर्फको यात्रामा देश अगाडि बढेको बताउनुभयो ।

शहिदहरुको वलिदान र जनताको संघर्षबाट प्राप्त लोकतन्त्रलाई अलमलमा पार्ने कसैको प्रयास पनि सफल नहुने प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो ।

बैशाख १७ र २७ मा निर्धारण गरिएको मितिमा नै निर्वाचन हुने उल्लेख गर्नुहुंदै प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा लाग्न सबै निकायलाइ आह्वान गर्नुभयो ।

त्यसबखत नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायतका विभिन्न संघस्थाले मार्चपास, कवाज, व्याण्ड तथा विशेष झाँकीहरु प्रस्तुत गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.