सामूहिक राजीनामा गराउने हानिकारक प्रयासः प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैयक्तिक स्वार्थका लागि केही सांसदहरुलाई राजीनामा गराउने हानिकारक प्रयास भएको बताउनुभएको छ ।
एमालेको माधव नेपाल समूहले सामूहिक राजीनामाको तयारी गरिरहेकाबेला विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनलाई स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउन नहुने उल्लेख गर्नुभएको छ । ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन,’ विज्ञप्तीमा लेखिएको छ, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् । कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन् ।’
प्रधानमन्त्रीले पार्टीविरोधी गतिविधिलाई इतिहासले माफी नगर्ने पनि उल्लेख गर्नुभएको छ । ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पु¥याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु ।’
प्रधानमन्त्रीले भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगरेको बताउँदै भन्नुभएको छ, ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।’
प्रतिक्रिया राख्नुहोस्