कोरोना अस्पताललाई भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर सहयोग
काभ्रे- काभ्रेपलाञ्चोक जिल्लाका तीन कोरोना विशेष अस्पतालका लागि ‘भेन्टिलेटर’ मेशिन र ‘हाइ फ्लो अक्सिजन कन्सन्ट्रेटर’ सहयोग गरिएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ नामक सामाजिक संस्थाले धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताललाई १/१ वटा भेन्टिलेटर मेशिन हस्तान्तण गरेका हुन् ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको रोहवरमा ती दुबै अस्पताल र नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पताललाई २/२ थान हाइ फ्लो अक्सिजन कन्सन्ट्रेटर र २०/२० थान पीपीईसमेत प्रदान गरिएको छ ।
प्रारम्भ संस्थाकी अध्यक्ष एवं सिगापुर रेडक्रसको नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले कोरोना संक्रमितको उपचारको लागि केही सहज होस् भनेर सहयोग गरेको बताउनुभयो ।
यसअघि प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनले बनेपा, धुलिखेल, पनौती, पाँचखाल र भुम्लु गाउँपालिका, नमोबुद्ध र रोशी गाउँपालिकाले संयुक्त रुपमा सञ्चालन आइसोलेसन सेन्टरको लागि २/२ वटा अक्सिजन कन्सन्ट्रेटर, २०/२० थान पीपीई, ५/५ थान पल्स अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिसकेका छन् ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल लगायतले सहयोगको प्रशंसा गर्दै उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।।
प्रतिक्रिया राख्नुहोस्